पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीको हारको शुरुआत कर्णालीबाट भएको बताएका छन्।
चितवनमा माडी नगरपालिका कार्यालयको भवन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संसदको पुनर्स्थापना गर्दा पनि ओलीले हार स्वीकार नगरेको भए पनि कर्णाली प्रदेश सरकार गिराउने प्रयास असफल भएसँगै औपचारिकरुपमा हारको शुरुआत भएको उद्घोष गरेका हुन्।
अब गण्डकी र लुम्बिनी प्रदेशमा पनि ओलीले हार व्यहोर्ने बताउँदै प्रचण्डले ती प्रदेशमा भन्दा पहिले संघमा हार्न सक्ने धारणा राखे। ‘प्रतिगमन धेरै दिन टिक्दैन,’ उनले भने।
प्रचण्डले पार्टी एकता, बाम गठबन्धन र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने क्रममा आफूनै प्रस्तावक रहे पनि ओलीले धोका दिएको बताए। ‘राजनीतिक तुवाँलो धेरै समय रहँदैन अब तुवाँलो फाटेर उज्यालो सुरु हुन्छ,’ उनले भने।
प्रचण्डले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन्। मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन्।
उनले आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुशी भएको बताउँदै प्रचण्डले भने, ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ।’