नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टर बनेका ७ जनालाई पक्राउ गरेको छ। सिआइबीले सोमबार पत्रकार सम्मेलन गरी एसएलसीको नक्कली प्रमाणपत्र पेश गरी डाक्टर बनेका ७ जनालाई सार्वजनिक गरेको हो।
सिआइबी प्रमुख सहकुलबहादुर थापाले पक्राउ परेका ७ मध्ये चार जना नेपाल मेडिकल काउन्सिलमा रजिस्टर्ड भइसकेको ‘डाक्टर’ रहेको जानकारी दिएका छन्।
काउन्सिलमा दर्ता भएका डाक्टरमध्ये सप्तरीका मोहम्मद सिद्दिकी विराटनगरको न्यूरो अस्पताल, महोत्तरीका सुभाषप्रसाद शाह धनुषाको जनकपुर चिल्ड्रेन अस्पताल, धनुषाका मोहम्मद शाहिद राजा चावहिलको दीर्घायू अस्पताल र मनाङका दीपेन्द्र गौतम रुकुमको चौरजहारी मिसन अस्पतालमा कार्यरत रहेको थापाले बताए।
थापाका अनुसार उनीहरूविरुद्ध लिखतसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
पक्राउ परेका सप्तरीका अखिलेखकुमार देव, महोत्तरीकी पल्लवी सिंह र ललितपुरका फराज हुसेन खानले अहिलेसम्म काम शुरु नगरेको थापाले बताएका छन्।