संसद अधिवेशन हठात् रुपमा अन्त्य गरिएको निष्कर्षसहित राष्ट्रिय जनमोर्चाले केपी ओली नेतृत्वको सरकारले विरोध गरेको छ। जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओली पुनर्स्थापित संंसदविरुद्ध रहँंदै आएको र संसदलाई बिजनेश नदिइ अन्त्य गरेको बताएका हुन्।
केसीले संसद अधिवेशन अन्त्यको निर्णयलाई वर्तमान सरकारको अधिनायकवादी तथा निरंकुश कदम भनेर भर्त्सना गरेका छन्।
संसदमा सरकारका विषयमा उठेका सवालहरूको जवाफ दिनु सरकार प्रमुखको नाताले प्रधानमन्त्रीको दायित्व हुने बताउँदै केसीले संसदीय परम्पराअनुसार पनि त्यसको जवाफ नदिई संसदको नियमित बैठकका लागि तोकिएको मितिमा बैठक बस्न नदिई हठात रुपमा संसद अधिवेशनको अन्त्य गरेको उल्लेख गरेका छन्।
ओलीको यो अधिनायकवादी तथा निरंकुश कदमको हामी घोर विरोध तथा भर्त्सना पनि केसीले गरेका छन्। ओली देशलाई मध्यावधि निर्वाचनमा धकेल्न उद्दत रहेको केसीको आरोप छ।
‘ओली यो संसदलाई भंग गरेर देशलाई मध्यावधिमा धकेल्नका लागि जुनसुकै हत्कण्डा अपनाउन तयार भएका छन्, ओलीको यो क्रियाकलापले देशको गणतन्त्र तथा राष्ट्रियता खतरामा परेको छ,’ केसीले भनेका छन्।