एजेन्सी – इंग्लिस क्लब टोटनहम हट्स्परले आफ्ना मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई बर्खास्त गरेको छ। प्रिमियर लिगमा उच्च प्रदर्शन गर्न नसकेपछि टोटनहमले मौरिन्होलाई बर्खास्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
क्लबले सोमबार विज्ञप्ति जारी गर्दै माउरिन्हो उनका प्रशिक्षण टोलीकी सदस्य जोओ साक्रामेन्टो, तुनो सान्तोष, कार्लोस लालित र गाभानी केरालाई जिम्मेवारीबाट अलग गरेको जनाएको छ।
प्रिमियर लिगमा टोटेनहमले पछिल्लो समय एभर्टनसँग २–२ गोलको बराबरी खेलेको थियो । लिगमा ६ चरणको खेल बाँकी रहँदा टोटेनहम सातौ स्थानमा रहेको छ।
५८ वर्षीय मौरिन्हो २० नोभेम्वर २०१९ मा टोटेनहमको मुख्य प्रशिक्षक बनेका थिए। उनको प्रशिक्षणमा टोटेनहमले ८६ खेल खेल्दा ४४ जीत, १९ बराबर र २३ हारको सामना गरेको छ । उनले टोटेनहमबाट कुनै उपाधि जित्न सकेनन्।
यसअघि उनी २०१६ देखि २०१८ सम्म अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेका थिए। यसका साथै मौरिन्हो लगातार दुई प्रिमियर लिग क्लवबाट बर्खास्तीमा परेका छन् । यसअघि म्यानचेस्टर युनाइटेडले पनि उनलाई बर्खास्त गरेको थियो।
क्लबका अध्यक्ष डानिल लेभीले मौरिन्हो र उनको टोली क्लबको चुनौतीपूर्ण समयमा साथमा रहेको उल्लेख गरेका छन्। उनले प्रशिक्षण टोलीको योगदानका लागि धन्यवाद पनि दिएका छन्।
अब टोटनहमले यो सिजनका लागि प्रशिक्षकमा रायन मासोन र क्रिस पोवेललाई जिम्मा दिने संभावना रहेको बताइएको छ।