मध्यक्रमका ब्याट्सम्यान बास डी लिडले उत्कृष्ट प्रदर्शन गरेपछि नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० आई सिरिजमा घरेलु टोली नेपालमाथि ३ विकेटको सानदार जित निकालेको छ। जितको लागि २ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
नेदरल्यान्ड्सका बास डी लिडले ४२ बलमा ७ चौका र ५ छक्का सहित ८१ रन अविजित रहँदै टोलीलाई सानदार जित दिलाए। यो नेदरल्यान्ड्सले आफ्नो टि२० आई इतिहासकै सर्वाधिक विशाल लक्ष्य पूरा(चेश) गरेको हो। बेन कुपर ३५ बलमा १० चौका सहित ५५ रनमा क्याच आउट भए।
दोस्रो ओभरको तेस्रो बलमा ओपनर म्याक्स ओडाउडलाई ९ रनमा स्पिनर सन्दीप लामिछानेले एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। छैटौं ओभरको तेस्रो बलमा सन्दीपलेनै टोबियस भिसेलाई १५ रनमा विकेटविकर विनोद भण्डारीबाट स्टम्पिङ आउट गराउँदै दोस्रो सफलता दिलाएका थिए । तर तेस्रो विकेटका लागि लिड र कुपरले ६८ रनको साझेदारी गर्दै नेपाललाई चुनौती दिएको थियो। कप्तान पिटर शिलारले १५ बलमा १ चौका र ३ छक्का सहित ३१ रनमा क्याच आउट भए। स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ४८ रन खर्चेर ४ विकेट लिए। नेपालका करण केसी, कुशल मल्ल र अभिनाश बोहराले १–१ विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो। नेपालले टि२० आईमा दोस्रो पटक २ सयमाथिको योगफल बनाएको हो। यसअघि नेपालले गतवर्ष टियुमै १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो। जुन नेपालले टि२० आईमा बनाएको सर्वाधिक ठूलो योगफलमा पर्छ।
नेपालका ओपनर कुशल भुर्तेल ४६ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६२ रनको योगदान दिए। कुशल भुर्तेलले लगातार तीन अर्धशतक प्रहार गरे । कुशलले १३ औं ओभरको अन्तिम बलमा स्पिनर आर्यन दत्तलाई छक्का साथ ४१ बलमा अर्धशतक पूरा गरेका थिए।
उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३० बलमा ३ चौका र ५ छक्का सहित आक्रामक ६० रनको योगदान दिए।
दीपेन्द्रले २८ बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए। १६ औं ओभरको पहिलो बलमा दीपेन्द्रले कप्तान पिटर शिलारलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। दोस्रो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर भिभिन किंगमाको बलमा आसिफ मिडअनमा बेन कुपर बाट शून्यमा क्याच आउट हुन पुगेका थिए। यस अघि आसिफ र कुशल भुर्तेलले लगातार दुई शतकीय साझेदारी गरेका थिए।
दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशलले ४३ रनको साझेदारी गरेका थिए। कप्तान तथा स्पिनर पिटर सिलारको बलमा ठूलो सट खेलेका ज्ञानेन्द्र डीप मिडविकेटमा बास डी लिडबाट २० रनमा क्याच आउट हुन पुगेका थिए। ज्ञानेन्द्रले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे। तेस्रो विकेटका लागि दीपेन्द्र र कुशल भुर्तेलले ७८ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफल बनाएको हो। कुशल मल्ल ७ बलमा ३ छक्का सहित १८ रनमा क्याच आउट भए। सोमपाल कामी १३ बलमा २ चौका र १ छक्का सहित २१ रनमा अविजित रहे। विनोद भण्डारी ७ रनमा अविजित रहे।
कप्तान पिटर शिलारले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए। भिभिन किंग्माले ओभरमा रन खर्चेर विकेट लिए। आर्यन दत्त र बास डी लिडले १–१ विकेट लिए। फाइनल वैशाख ११ मा हुने छ।