पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शाह दम्पतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
तर, कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पूर्वराजा शाह आश्चर्यमा परेका छन्। दिल्लीबाट उनीहरू आइतबार काठमाडौं आए। दिल्लीमा परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण देखिएन।
यद्यपि, काठमाडौं फर्किएपछि शाह दम्पतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। पूर्वराजा शाहलाई विमानमा वा विमानस्थलमा स्वागत गर्न बसेका शुभचिन्तकबाट कोरोना सरेको हुनसक्ने आशंका पनि गरिएको छ।
शाहको सचिवालय श्रोतका अनुसार कुम्भ मेलामा कोरोना भाइरसको संक्रमण भएको भए भारतमै कोरोना पुष्टि हुने थियो। तर, नेपाल आएपछि देखिएको हुनसक्ने अनुमान पनि गरिएको छ। सचिवालय श्रोतका अनुसार पूर्वराजा शाह पनि कसरी आफूलाई संक्रमण भयो अचम्ममा परेका छन्।
शनिबार दिल्लीमा उनको पीसीआर परीक्षणमा गर्दा नेगेटिभ देखिएको थियो। उनले नेपाल आएपछि सोमबार पुनः परीक्षणको लागि स्वाब दिएका थिए। जसको रिपोर्ट पोजिटिभ आएको हो।
भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी हुनुअघि र सहभागी भएपछिको दुवै परीक्षणमा पूर्वराजा शाहलाई कोरोना भाइरसको संक्रमण देखिएको थिएन।