अष्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताको छाता संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट अलायन्सले विभिन्न सञ्चारमाध्यममा अष्ट्रेलियाको सीमा प्रतिबन्ध र विद्यार्थी आगमनबारे अफवाह फैलाएको आफ्नो ध्यानाकर्षण भएको बताएको छ।
केही अनलाइन सञ्चारमाध्यमले भ्रामक तथा आधारविहीन समाचार प्रकाशित गरी विद्यार्थी तथा अभिभावकलाई भ्रममा पारेको उल्लेख गर्दै अलायन्सले गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको हो।
मंगलबार विज्ञप्ति जारी गर्दै अलायन्सले अष्ट्रेलियाको केन्द्रीय सरकारको आधिकारीक निर्णयअनुसार विशेष परिस्थितिबाहेक आगामी सन् २०२१ को जुन १७ सम्मका लागि मात्र अष्ट्रेलिया प्रवेशमा रोक लगाएको स्पष्ट पारेको छ।
यसबाहेक अष्ट्रेलिया प्रवेश र आगमनका सम्बन्धमा सरकारको कुनै अर्को निर्णय बाहिर नआएको बताएको छ। भ्रामक समाचारले अभिभावक तथा विद्यार्थीमा अन्यौलता छाएको अलायन्सले जानकारी गराएको छ।
अष्ट्रेलियन सरकारको आधिकारीक निर्णय नआइसकेको अवस्थामै यसको अपव्याख्या गरेर सन् २०२४ सम्म अष्ट्रेलियन बोर्डर नखुल्ने र विद्यार्थी आगमनमा समेत रोक लाग्ने जस्ता समाचार आउनुमा कुनै आधार नरहेको अलायन्सले स्पष्ट पारेको छ।
कोरोनाको मारबाट प्रभावित विश्व विस्तारै सहज अवस्थामा जाँदै गर्दा अष्ट्रलियाले पनि आफ्नो दरिलो आर्थिक श्रोतका रुपमा रहेको शैक्षिक उद्योगलाई सहजसाथ अगाडि बढाउन आवश्यक गृहकार्य गरिरहेको अलायन्सले उल्लेख गरेको छ।
यसैबीच, अष्ट्रेलियाका प्रमुख राज्यहरू एनएसडब्लु (सिड्नी) र भिक्टोरिया (मेलवर्न)ले केन्द्रीय सरकारलाई राज्यको स्वास्थ्य नीति बमोजिम क्वारेन्टाइनको अनिवार्य शर्तसहित अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउनका लागि विशेष आग्रह गरिरहेको अवस्थामा बिना कुनै आधार प्रमाण अष्ट्रेलिया प्रवेशमा रोक लाग्न सक्ने जस्ता समाचारले विद्यार्थी र अभिभावक मात्र नभइ यस शैक्षिक उद्योगमा समेत प्रभाव पर्ने मनसाय राखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यही १३ अप्रिलमा सेभेन न्यूज अस्ट्रेलियाले प्रशारण गरेको सामग्रीमा सामान्य जनजीवनमा फर्किन अष्ट्रेलियालाई सन् २०२४ सम्म लाग्नसक्ने विशेषज्ञको चेतावनी शीर्षकको समाचार प्रकाशित गरेको थियो।
यही समाचारलाई अपव्याख्या गरेर सन् २०२४ सम्म अस्ट्रेलिया विद्यार्थीका लागि नखुल्ने मनसायको समाचार सम्प्रेषण हुनु आफैमा अपत्यारिलो भएको अलायन्सले दावी गरेको छ।
अष्ट्रेलियाले आफ्नो जनजीवन सामान्य बनाउने क्रममा यही सोमबारदेखि बिना क्वारेन्टाइन न्यूजिल्यान्डसँगको सीमा खुला गरिसकेको छ।
यसैक्रममा पहिलो दिनमा १ सय २२ उडान भइसकेको छन्। सुरक्षित तबरले क्वारेन्टाइन शर्तसहित अन्य मुलुकमा उडान थाल्ने तयारी गरेको अध्यक्ष भुपाल सिटौला र महासचिव कोमलराज पाठकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।