विवाह गर्ने प्रलोभन देखाएर लामो समयसम्म प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईको यौन शोषणमा परेकी नेकपा एमालेकी युवा नेतृ बालिका खड्काले आफूविरुद्ध पार्टीको नेतृत्वबाटै गम्भीर षड्यन्त्र भएको खुलासा गरेकी छिन्।
नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले पक्राउ गरेपछि नेतृ खड्काले आफूविरुद्ध गम्भीर षड्यन्त्र भएको खुलासा गरेकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
मुख छाडेको आरोपमा खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताएका छन्।
खड्कालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। सिंहदरबार वृत्तमा खड्कालाई भेट्न गएका एमालेका एक नेतालाई उनले आफू मारिन सक्ने बताएकी हुन्।
‘शेरधन राईले पहिले यौन शोषण गर्यो, त्यसले पुगेन, अहिले ज्यानै लिने षड्यन्त्र गरेको रहेछ, शेरधनले मेरो हत्या गर्ने षड्यन्त्र गरेको रहेछ, म मारिन सक्छु, तर न्याय होस्,’ बालिकाको भनाई उद्धृत गर्दै ती नेताले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै बालिकाले संगीन प्रश्न उठाएकी छिन्। आफूले पटक–पटक कारबाहीको माग गर्दा पनि ओलीले वास्ता नगरेको बालिकाको भनाई छ।
खड्काले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बिचल्ली बनाएको आरोप लगाउँदै आएकी छिन्। पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए।
नेतृ खड्काले राईमाथि कारबाही हुनुपर्ने माग दोहोर्याएकी छिन्। ‘ममाथि भएको अन्यायको हिसाव पार्टीले खोज्नुपर्छ,’ उनले ती नेतासँग भनिन्।
याे पनि पढ्नुहाेस्:
एमाले युवा नेतृ बालिका खड्कालाई मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मुको अर्को ‘धम्की’
‘सर्वोच्च अदालत र कानूनले रोक्दैन, सिके राउत र विप्लवजस्तै रेशम चौधरीको मुद्दा फिर्ता हुन्छ’ (अन्तरवार्ता)