भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गरेका छन्।
परिवारका सदस्यहरु कोभिड–१९ को संक्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ–सहयोग दिनुपर्ने जानकारी दिँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताएका छन्।
स्पिनर आश्विनले यसपटक दिल्ली क्यापिटल्सबाट खेल्दै आएका थिए। ‘अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेवारी हो,’ आश्विनले ट्विटरमा लेखेका छन्। त्यस्तै, अष्ट्रेलियाका तीन खेलाडीले एकैसाथ आइपिएल छोड्ने घोषणा गरेका छन्। आडम जम्पा, केन रिचार्डसन र एन्ड्रयू टायले आइपिएल नखेल्ने घोषणा गरेका छन्।
भारतमा कोरोना भाइरसको महामारी तिव्र रुपमा फैलिएको अवस्थामा आइपिएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ। दिल्ली क्यापिटल्सले आश्विनको निर्णयप्रति पनि समर्थन जानकारी दिएको छ। भारतमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि आइपिएल स्थगन गर्न माग गरिएकाे छ।