केही अपराधका घटनाहरु सुन्दा शरिर नै सिरिङ्ग हुने गर्छ। स्पेनमा मुटु नै काँप्ने एक अपराधको घटना सार्वजनिक भएको छ। स्पेनमा एक युवकले आफ्नै आमाको हत्या गरी उनको मृत शरिरलाई हजार टुक्रा पारेको खबर हालै बाहिरिएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ती युवकले काटिएको टुक्रालाई लञ्च बक्समा हालेर आफूले पनि खाएको र आफ्नो कुकुरलाई पनि खुवाएका थिए। अल्बर्टो सान्चेज गोमेज नामका ती युवक हाल प्रहरी नियन्त्रणमा छन्। सान्चेजको घरमा पुलिस पुग्दा उनकी ६८ वर्षकी आमा मारिया गोमेजको शरीरको केही भाग फ्रिज र प्लास्टिकको झोलामा भेटिएका थिए।
सान्चोजले आमाको हत्या गरेको स्वीकार गरेका छन्। त्यहाँको कानुनअनुसार उनलाई कम्तीमा १५ वर्षको जेल सजाय हुन सक्ने बताइएको छ। मारिया गोमेजकी एक साथीले मारिया हराइरहेको भन्दै उजुरी दिएकी थिइन्। सूचना पाएपछि पुलिस छानबिनका लागि मारिया गोमेजको घरमा गएको थियो।
पुलिसले सान्चेजसँग उनकी आमाबारे सोध्दा उनले आमाको हत्या गरेको र आफू तथा आफ्नो कुकुरले उनलाई खाएको बताएका थिए। सामान्य विवाद भएपछि उनले आमाको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
सान्चोजले अदालतमा दिएको बयानमा हत्या गरेको मिति आफूलाई याद नभएको बताएका छन्। बयानपछि उनको मानसिक अवस्थाको परिक्षण शुरु गरिएको छ। उनमा कुनै मानसिक रोग भए नभएको यनिक भएको छैन। यद्यपि, अदालतमा दिएको बयानले उनी मानसिक रोगी भएको हुन सक्ने अनुमान गरिएको छ।