त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका सबै पूर्वनिर्धारित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्चालित तथा सञ्चालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्चालन नसकिने परिस्थिति सृजना भएकाले आज मिति २०७८÷१÷१३ गते बसेको त्रि.वि. केन्द्रीय परीक्षा सञ्चालक समितिको बैकठको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु २०७८/०१/१४ देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’