कारबाही रोक्न माग गर्दै माधवकुमार नेपालसहित नेकपा एमालेका नेताहरुले दिएको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले कारबाही भइसकेको अवस्था नदेखिएको जानकारी दिँदै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। बैशाख ६ गते एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित २७ सांसदलाई (स्पष्टीकरण माग गरेका थिए।
त्यसविरुद्ध नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले आफूहरुमाथिको कारबाही हाल यथास्थितिमा राख्न र थप कारबाही नगर्न नगराउन अन्तरिम आदेश माग गरेका थिए।
हालको प्रारम्भिक अवस्थामा पार्टीको आन्तरिक कार्य व्यवस्थापनको सिलसिलामा स्पष्टीकरण सोधिएकै घरमा माग गरे बमोजिम अन्तरिम आदेश जारी गरिरहनुपर्ने अवस्था नदेखिएको आदेशमा उल्लेख गरिएको छ। निर्वाचन आयोग, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतलाई विपक्षी बनाइएको रिटमा सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ।