जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारी नियन्त्रणका लागि ७ बुँदे आदेश जारी गरेको छ। सोमबार बसेको जिल्ला प्रशासन कार्यालयको बैठकले बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी ७ बुँदे आदेश जारी गरेको हो।
बैठकले काठमाडौं जिल्लाभित्र सबै प्रकारका सभा, सम्मेलन गर्न रोक लगाएको छ। विवाह, व्रतबन्धका लागि स्वास्थ्य मापदण्ड पूरा गरी बढीमा १५ जनामात्र सहभागी हुन पाउने कार्यालयको आदेशमा उल्लेख गरिएको छ। त्यस्तै, अत्यावश्यक सामाग्री ढुवानी र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य निजी र सार्वजनिक यातायातका साधनहरु सञ्चालन नगर्न भनिएको छ।
बैठकले उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्यरुपमा स्थानिय तहले तोकेको क्वारेन्टाइन र होम आइशोलेसनमा बस्नुपर्ने जानकारी दिएको छ। त्यस्तै, अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवाहरु स्थगित भएका छन्।