गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा मंगलबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएको थियो। गुरुङविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा फ्लोर क्रस हुने आशंका रहेको भन्दै दलहरुले आफ्ना सांसदहरुमाथि कडा निगरानी राखेका छन्।
अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेस, माओवादी र जसपाले आफ्ना सांसदहरुलाई मंगलबारदेखि पोखराको रिसोर्टमा राखेका छन्। अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकाहरुको संख्या नघटोस् भनेर साथीहरुलाई एकै ठाउँमा राखिएको बताइएको छ।
मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले यही वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। गण्डकीमा तीन प्रदेशसभा सदस्य रहेको जनमोर्चासमेतको भोट पाउँदा अविश्वास प्रस्तावको पक्षमा ३१ मत पुग्छ जुन मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार ढाल्न पुग्ने संख्या हो।
गण्डकीमा नेकपा एमालेका २७ सांसद छन्। मंगलबार गुरुङविरुद्धको अविश्वासको प्रस्ताव टेबुल भएको थियो। मंगलबारै अविश्वासको प्रस्तावमा मतदान हुन सक्ने अनुमान गरिएको थियो। बुधबार मतदान हुने लगभग पक्का छ। अन्तिम समयमा गणना गरिएका सांसदहरुले फ्लोर क्रस गरेमा अविश्वासको प्रस्ताव फेल हुने सक्ने भन्दै दलहरुले सांसदमाथि कडा निगरानी राखेका हुन्।