कोरोना भाइरसको नयाँ लहर शुरु भएसँगै नेपालमा उच्च स्वास्थ्य सर्तकता अपनाउन थालिएको छ। पछिल्ला दिनहरुमा कोरोना संक्रमण तथा कोरोनाबाट मृत्यु हुनेको संख्यामा पनि एकाएक वृद्धि भइरहेको छ। देशका विभिन्न ठाउँहरुमा निषेधाज्ञा लगाइएको छ।
यसैबीच अस्पतालमा बिरामीको चाप बढ्ने कुरालाई दृष्टिगत गर्दै स्वास्थ्य मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने र यसअघि बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन दिएको छ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले मंगलबार अस्पतालहरुलाई पत्र लेख्दै स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र बिदामा बसेकाहरुलाई पनि बोलाउन निर्देशन दिएको हो।
त्यस्तै कार्यरत जनशक्तिमध्ये ५० प्रतिशतको पालो निर्धारण गरी सेवा दिन, दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न, थप जनशक्ति चाहिए ६ महिनाका लागि करारमा लिन पनि निर्देशन दिएको छ।
मन्त्रालयले आकस्मिक उपचार दिने तर बहिरंग सेवा र अति आवश्यक बाहेकका शल्यक्रिया नगर्न पनि निर्देशन दिएको छ। स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले अस्पतालहरुलाई पठाएको पत्रमा सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ।