सत्तारुढ दल नेकपा एमाले दुई समूहमा विभाजित भएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका पछिल्ला गतिविधिले सत्तारुढ दल विभाजनको संघारमा पुगेको हो।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले २०७७ फागुन २८ गते भएको निर्णय फिर्ता लिएर वि.सं. २०७५ जेठ २ अघिकै अवस्थामा पार्टीलाई फर्काउन माग गरे पनि अध्यक्ष ओलीले कारबाहीको प्रक्रिया तीव्र पारेपछि अन्ततः एमाले विभाजनउन्मुख भएको हो।
एमाले वरिष्ठ नेता नेपाल पक्षका एक नेताले आफ्नो समूहमा पार्टी पुनर्गठनको विषयमा छलफल भइरहेको बताएका छन्। ‘पार्टी एकताबद्ध हुनुपर्छ भन्ने हाम्रो धारणा हो,’ ती नेताले भने, ‘तर, अध्यक्ष ओलीको अराजक शैलीकै कारण अन्ततः पार्टी पुनर्गठनमा जानुपर्ने अवस्था सिर्जना भएको हो।’
ती नेताले अध्यक्ष ओली एमाले फुटाउने कसरतमा लागेको आरोप लगाए। ‘एमालेलाई एकताबद्ध बनाउन खोजिरहँदा पनि ओलीजीले ढोका बन्द गरेर पार्टी पुनर्गठनमा जाने अवस्थामा उहाँले पुर्याउनु भएको छ,’ ती नेताले भने।
नेपाल पक्षका नेताका अनुसार एमाले पुनर्गठनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग एकता र वामआन्दोलनलाई नयाँ ढंगले अघि बढाउने विषयमा पनि छलफल भइरहेको छ।
‘पार्टीको नाम नेकपा एमाले क्रान्तिकारी’
खनाल–नेपाल पक्ष ती नेता हुन्, जसले नेकपा एमालेलाई ३ लाखबाट बढाएर झण्डै ७ लाख कार्यकर्ताको पार्टी बनाए। तर, केपी ओली पार्टी अध्यक्ष बनेपछि एमालेबाटै उनीहरू बिदा हुने अवस्था सिर्जना भएको छ।
यद्यपि, एमालेको विरासत बोकेका खनाल र नेपाल पार्टी पुनर्गठनको तयारीमा जुटेको नेपाल पक्षका एक नेताले बताए। उनका अनुसार पार्टीको नामको विषयमा अहिले छलफल चलिरहेको छ।
‘हामी ओलीको अबको रणनीति र निर्णय पर्खिरहेका छौं, पार्टीलाई एमाले–माओवादी केन्द्रबीच एकता गरेर नेकपा बन्नुभन्दा अघिको अवस्थामा लगिए हामी ओलीलाई स्वीकार्छौं, नभए अब पार्टी पुनर्गठन हुन्छ,’ ती नेताले भने।
नेकपा एमालेको आधिकारिकताका लागि निर्वाचन आयोग जाने रणनीतिमा खनाल–नेपाल पक्ष छ। ‘निर्वाचन आयोगबाट आधिकारिकताको समस्या हल नभएमा नेकपा एमाले पुनर्गठन गरेर नेकपा एमाले समाजवादी वा नेकपा एमाले क्रान्तिकारी बनाउने भन्ने सन्दर्भमा छलफल चलिरहेको छ,’ ती नेताले भने, ‘नेकपा एमाले क्रान्तिकारीमा लगभग सहमति जुटिसकेको छ।’
यसअघि, एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ताका क्रममा एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि नेकपा एमाले क्रान्तिकारी गठन हुने बताएका थिए।
‘हामीले नेकपा एमाले क्रान्तिकारी भनेर अलिक भिन्न ढंगले पार्टी बनाउनुपर्ने अवस्था आयो भने त्यो पार्टीको त्यतिबेला जस्तो प्रकारका नीतिहरु बन्छन्, त्यो नीतिका आधारमा अगाडी बढ्छौं,’ खनालले भनेका छन्।