युईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल खेलको पहिलो लेगमा बुधबार राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पिएसजीबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति १२ः४५ बजे शुरु हुनेछ।
यी दुबै क्लब पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा छन्। लक्ष्य समान भएपनि फाइनलमा स्थान एक टोलीले मात्र बनाउनेछ। च्याम्पियन बन्ने लक्ष्य बोकेका दुई टोलीबीच सेमिफाइनल खेलमा कडा टक्कर हुनेछ।
हालसम्म यी दुई टोलीबीच ३ खेलमा भेट भएको छ। तीमध्ये दुई खेल बराबरीमा सकिएको छ भने एक खेलमा सिटी विजयी भएको छ। पछिल्लोपटक दुई टोलीको भेट २०१६ अप्रिलमा भएको थियो। सो भेटमा सिटी १–० गोलले विजयी भएको थियो। पिएसजी गत सिजनको उपविजेता पनि हो।
म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले सेमिफाइनलमा यो आफ्नो टोलीको दोस्रो यात्रा रहेको बताउँदै इतिहास रच्न अघि बढ्ने बताएका छन्। पिएसजीका कोच माउरिसियो पोचेटिनोले दुबै टोली उत्कृष्ट रहेको जानकारी दिँदै महत्त्वपूर्ण १ सय ८० मिनेटमा कुन टोली फाइनलमा पुग्छ भन्ने निर्धारण गर्ने बताएका छन्। उनले आफूहरु जीतका लागि खेल्ने जानकारी दिए।