फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेसीलाई क्लब भित्र्याउन आकर्षक अफर प्रस्ताव गरेको छ। मेसी बार्सिलोनामा रहने वा नरहने विषयमा अन्यौल रहेका बेला पिएसी मेसीलाई भित्र्याउन अघि बढेको हो।
फ्रेन्च च्याम्पियनले अर्जेन्टिनी फरवार्ड मेसीलाई तीन वर्षको लागि क्लबमा अनुबन्ध गर्नै प्रस्ताव अघि सारेको हो। त्यस्तै, पिएजसीले मेसीलाई १० नम्बरको टि–शर्ट पनि दिने बताएको छ। हाल जर्सी नम्बर १० बाट नेयमार खेलिरहेका छन्। विभिन्न सञ्चारमाध्यमले पिएसजीले मेसीलाई गरेको प्रस्ताव अस्वीकार गर्न नसकिने रहेको टिप्पणी गरिरहेका छन्।
उता, नेयमार पनि मेसीलाई क्लबमा भित्र्याउन लागि परेको बताइएको छ। सिजनको शुरुवातमा नै मेसी र बार्सिलोनाबीचको दुरी बढेको थिए। बार्सिलोनामा निराश मेसीले क्लब छोड्ने बताए पनि पछि उनले यस सिजन बार्सिलोनामै बिताउने निर्णय गरेका थिए। समाचार रिपोर्टमा उल्लेख गरिएअनुसार मेसीले पिएसजीको प्रस्ताव स्वीकार गर्नछन्।
तर, बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा आएसँगै मेसी र बार्सिलोनाबीच सामिप्यता बढेको छ। लापोर्टा मेसीलाई बार्सिलोनामा नै राख्न हरसम्भव प्रयास गरिरहेको बुझिएको छ। यद्यपी, सिजनको अन्त्यपछि नै मेसीले आफ्नो भविष्य निर्धारण गर्नेछन्।