स्पेनिस ला लिगा फुटबल अन्तर्गत गय राति भएको खेलमा बार्सिलोना ग्रानडासँग पराजित भएको छ। घरेलु मैदानमा बार्सिलोना २–१ गोलले हारेको हो।
खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेसीको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा ग्रानडाले २ गोल गर्दै पुनरागमन जित निकाल्यो। ग्रानाडाका लागि ६३ औं मिनेटमा डार्विन म्याचिज र ७९ औं मिनेटमा जर्ज मोलिनाले गोल गरेका थिए।
ला लिगा उपाधिमा कडा टक्कर भइरहेका बेला बार्सिलोनालाई यो हारले ठूलो धक्का दिएको छ। बार्सिलोनाले खेल जित्दै तालिकाको शीर्षस्थानमा उक्लने अवसर गुमायो।
हारपछि बार्सिलोना ३३ खेलबाट ७१ अंकका साथ तेस्रो स्थानमा छ। समान अंक भए पनि रियल मड्रिड हेड टु हेडमा अगाडि रहँदै तालिकोको दोस्रो स्थानमा छ। समान खेलबाट ७३ अंक बटुलेको एथ्लेटिको मड्रिड शीर्षस्थानमा छ। चौथो स्थानको सेभियाको ७० अंक छ।
लिगमा ५ खेल बाँकी रहँदा उपाधिका लागि कडा प्रतिस्पर्धा देखिएको छ। उपाधिका लागि शीर्ष ४ टोलीका प्रत्येक खेल महत्त्वपूर्ण हुनेछ। बार्सिलोनालाई उपाधि जित्नका लागि आफ्नो बाँकी खेल जितेर मात्र पुग्दैन अन्य टोलीको नजिता पनि कुर्नुपर्ने हुन्छ।