पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ। पाँच दिनदेखि उच्च ज्वरो र श्वासप्रश्वासको समस्यासँग लडिरहेका ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो।
बढ्दो संक्रमणका कारण घरमै उपचार गराइरहेका कुशवाहलाई कोरोनाको लक्षण देखिए पनि पिसिआर टेष्ट नभएको परिवारिक स्रोतले जानकारी दिएको छ।
कुशवाहको शव अन्तिम संस्कारका लागि कालिकामाई–२ भेडिहारीस्थित निवासमा बिहानै लगिएको उनका छोरा इन्दुभूषणले जानकारी दिए।
चार दशकदेखि सक्रिय राजनीतिमा रहेका कुशवाह सङ्घीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। तीन छोरा र पाँच छोरीका पिता कुशवाह अत्यन्त मिलनसार तथा मृदभाषी हुनाका साथै जनताप्रति समर्पित रहेको गाउँबासी बताउँछन्।