‘पहिलो लकडाउनमा ३० लाख सम्म दिन्छु भन्दा बेचिएन, अब त खै २० पनि पाइएला कि नाई।’
पुतलीसडकको चियाघरमा सुनिएको यो निराश आवाज कुनै घरजग्गा व्यापारीको होइन, न कुनै ठुलो व्यवसायीको नै हो।
करिव–करिव एकजना २५ र अर्का ३० वर्षका जस्तो देखिने दुई यूवक चियाघरको पहिलो तल्लामा बसेर गफिदैँ थिए। उनीहरु साझेदारीमा शैक्षिक परामर्श व्यवसाय (एजुकेशनल कन्सलटेन्सी) सञ्चालन गर्दो रहेछन्।
महामारीको पछिल्लो स्थितीका कारण सरकारले ‘लकडाउन’ गर्ने निर्णय गरेपछी उनीहरु ‘अब के गर्ने?’ भन्नेबारे छलफल गर्न बसेका रहेछन्।
‘२० नै पाएपनि बेच्नुपर्छ,’ – निलो चेक शर्ट लगाएका यूवकले आँखाको पावरवाला चश्मा खोल्दै भने।
उनको कुरामा सहि थाप्दै अगाडीपट्टिको कुर्सीमा बसेका अर्का व्यक्तिले कालो चियाको कप टेबुलमा राख्दै थपे, ‘बरु अवस्था सामान्य भएपछि फेरी जिरोबाटै शुरु गरौँला।’
अब पनि कार्यालय बन्द गरेर तलव र भाडा तिर्न नसकिने निष्कर्षमा पुगेका उनीहरु कार्यालय बेच्ने अन्तिम निर्णय लिएर त्यहाबाट उठे।
उनीहरुको कुरा सुनिरहेको मैले परिचय गरेर एकछिन कुराकानी गर्न आग्रह गर्दै भने, ‘तपाईहरुले अहिले गरेको कुराकानी भिडियोमा बोल्दिनुस न।’
‘भिडियो?’ तीमध्येका एकजना फेरी कुर्सिमा बसे र नमिल्दो मुस्कानका साथ भिडियोमा बोल्न नसक्ने आग्रह गर्दै भने, ‘हाम्रो परिचय नखुलाईदिुहोला है, लाज हुन्छ।’
पछिल्लो ३ वर्षदेखी शैक्षिक परामर्श व्यवसायमा लागेका उनीहरुले कोरोनाभाइरस महामारी शुरु भएयता करिव ११ लाख नोक्सानी खेपिसकेका रहेछन्।
‘राम्रै लगाी गरेर व्यवसाय शुरु गरिएको थियो, यस्तो अवस्था आउँला भन्ने त कल्पना पनि गरेका थिएनौ,’ थोरै भुईतिर हेर्दै उनले सुनाए, ‘अफिस त वेच्नैपर्ने भयो, यो विचमा केहि काम आएछ भने घरै बसेर गरौँला।’
नेपालमा अहिले करिव ४ हजारभन्दा बढी शैक्षिक परामर्शदाता कम्पनीहरु सञ्चालनमा छन्। त्यसमध्येका करिव १ हजार ४ सय ७३ हाराहारी शिक्षा मन्त्रालयमा दर्ता भएका छन्। बाँकी कम्पनीको रुपमा मात्र दर्ता भएर शैक्षिक परामर्शका गतिविधीहरु सञ्चालन गरिरहेका छन्।
‘सरदर हेर्दा यो क्षेत्रमा सय करोडभन्दा माथिको लगानी भएको देखिन्छ,’ नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का उपध्यक्ष शेषराज भट्टराई भन्छन्, – ‘यसले राम्रै रेभेन्यू पनि जेनेरेट गरिरहेको छ।’
सन् २०१८–१९ को आँकडाअनुसार ४ सय १५ अर्वको हाराहारी नेपालबाट ‘ट्यूशन फिको रुपमा अन्य देशहरुमा गएको देखिन्छ। २०१९–२० मा भने ठुलै गिरावट आएर २ सय २५ अर्व बाहिरिएको देखिन्छ।
शैक्षिक परामर्श व्यवसायका कारण आर्थिक मात्र नभई धेरै पाटोबाट राष्ट्रलाई फाईदा पुर्याइरहेको उनी दावी गर्छन्। ‘हामीले पैसामात्र होईन, दक्ष जनशक्ति उत्पादन गर्ने सवालमा पनि राम्रो भुमिका निर्वाह गरिरहेका छौ,’ उनले थपे, – ‘त्यसलाई आर्थिक पाटोबाट मात्र विश्लेषण गर्दा न्याय नहुन सक्छ।’
कोरोनाभाइरसले निम्त्याएको महामारीका कारण अहिले भने यो क्षेत्र धरमराएको छ। ‘पहिलो पटकको लकडाउनबाट भएको नोक्सानीबाट उठ्न ऋणधन गरेर व्यवसाय पुनः सञ्चालनमा ल्याएका थियौ,’ काठामाडौं डिल्लीबजारस्थित भेद इन्टरनेशनल एजुकेशन कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आशिक कार्की भन्छन्, – ‘सम्हालिन नपाउदैँ फेरी व्यवसाय बन्द गर्ने अवस्थामा पुगिसक्यौ।’
पहिलो लकडाउनपछि इक्यानलगायतका शैक्षिक परामर्श व्यवसायीका छाता सगंठनको पहलमा राज्यले परमर्श व्यवसायीलाई सहुलियतमा ऋण उपलव्ध गराउने व्यवस्था मिलायो। ‘हाम्रा व्यवसायिक संगठन र राज्यको पहलमा भएको यो ठुलो उपलव्धी हो,’ भेदका सिइओ कार्कि प्रश्न गर्छन्, ‘तर, ऋणमात्रै गरेर कति समय चल्न सकिएला र?’
जस्तोसुकै विषम् परिस्थिती आएपनि व्यापार भने जोगाउनुपर्नेमा उनी दृढ छन्। भन्छन्, ‘यति धेरै मेहनत र लगानी गरेर स्थापित गरिएको कम्पनी जोगाउन घरखेत नै वेच्नुपर्ने अवस्था आयो भने पनि बेच्नुपर्ला।’
यद्दपी व्यवसाय पुर्ण रुपमा ठप्प नै हुने अवस्था नरहेको पनि उनले बताए। ‘बोर्डर, एनओसी खुल्न समय लाग्ला। तर, त्यसअघि पनि गर्नुपर्ने धेरै प्रकृयाहरु हुन्छन्। ती प्रकृयाहरु अनलाईनबाट गरेर व्यवसायलाई चलायमान् राख्न सकिन्छ।
उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुअघि कम्तीमा २ देखी ३ महिनाको तयारी गर्नुपर्छ। अहिलेको समयमा आइइएलटिएस, पिटिई, टोफल, एसएटी (स्याट), एनएटटी (न्याट)जस्ता भाषा परिक्षाको तयारी र आवश्यक कागजपत्र बनाउन सकिने पुतलीसडक स्टार मलस्थित स्टुडेन्टस प्राइड एजुकेशनल कन्सलटेन्सी (स्पेक)की प्रवन्ध निर्देशक अनीता रेग्मी बताउछिन्।
‘अनलाइन माध्यमबाटै यी सबै तयारीहरु गर्न सकिन्छ,’ उनले भनिन्, ‘यी सब प्रकृयामा विद्यार्थीहरुलाई सघाउन हामी तयार छौँ।’ अध्ययनका लागि बाहिर जाने मनासाय बनाएका विद्यार्थीहरुले यो समयको भरपुर सदुपयोग गर्नुपर्ने उनी बताउछिन्।
कोरोना महामारीका कारण व्यवसायीमात्र होइन् त्यहाँ कार्यरत कर्मचारीहरु पनि समस्यामा छन्। ‘शैक्षिक परामर्शदाता कम्पनिहरुले करिव २० हजारलाई रोजगारी दिइरहेको छ,’ इक्यान उपध्यक्ष भट्टराई भन्छन्, ‘ति २० हजार कर्मचारीमाथी आश्रित परिवार पनि अहिले समस्यामा छन्।’
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्ष प्रकाश पाण्डे अहिलेको अवस्थालाई यसरी विश्लेषण गर्छन्ः
शैक्षिक परामर्श क्षेत्र अहिले अत्यन्त जटिल अवस्थामा छ। सामान्यतया अन्र्तराष्ट्रिय सिमानाहरु खुल्ने या नखुल्ने। उनीहरुले हाम्रा नेपाली विद्यार्थीहरुलाई लिने कि नलिने भन्ने विषयमा केन्द्रित थियौँ।
अघिल्लो वर्ष लकडाउन हुँदै गर्दा नेपालमा पनि बन्द बिदेशमा पनि बन्द। नेपाली विद्यार्थीहरु जान चाहने परिस्थिती हुँदा हुँदै पनि यहाँबाट जान सक्ने, पठाउन सक्ने परिस्थिती भएन। उतापट्टि ‘रिसिभ’ गर्न सक्ने परिस्थिती रहेन्।
त्यो बेलामा व्यवसाय पुर्ण रुपमा बन्द रहेपनि हामी एउटा तहमा भोली फेरी ‘रिकभर’ हुन सक्ने अवस्था छ भनेर परिकल्पना गर्दैै थियौ। पछिल्लो समयमा लकडाउनहरु फेरी खुलीसकेपछि, बिस्तारै ‘नो अब्जेक्सन’ सुचारु हुने, कैयौँ देशका भिसा प्रकृयाहरु सुचारु हुने कुराले फेरी व्यवसाय विस्तारै ‘ट्र्याकमा आउछ, विद्यार्थीहरु बाहिर जाने चाहनालाई मुर्त रुप दिन सक्छौ भन्ने जुन हाम्रो सोच थियो त्यसमा थोरै हदसम्म सुधार भएको थियो ।
तर, कतिपय देशले यो विचमा पनि कोभिडका कतिपय लहरहरुको कारणले गर्दा पनि आफ्ना सिमानाहरु खोलेको पाइएन्, विद्यार्थीहरुलाई स्वागत गरेको पाइएन्। तर, कतिपय देशहरुले विभिन्न मापदण्डहरु अवलम्बन गरेर विदेशी विद्यार्थीहरुलाई पनि लैजाने पक्रृया सुचारु गरे।
अहिले पनि अमेरिका, बेलायत, क्यानडालगायतका देशहरुले विद्यार्थीहरुलाई लिने काम गरिरहेका थिए। तर हामीले अर्को पनि हेर्यौ भने न्यूजिल्याण्ड, अष्ट्रेलीयाजस्ता देशहरुले भिसा लागेर बसिरहेका विद्यार्थीहरुलाई पनि लगिरहेको परिस्थिती थिएन्।
भनेपछि हामी व्यवसाय सामान्य अवस्थामा पुग्न पाएकै थिएनौ। पुनः यो लकडाउनले हामीलाई पुनः गाह्रो अवस्थामा पुर्याएको छ। व्यवसायिक रुपमा भन्नुपर्दा विगत एक वर्षभन्दा लामो समयदेखी कुनै नयाँ आम्दनीका श्रोत नभइकन बसिराख्नु अत्यन्त चुनौतीपुर्ण छ।