विश्व फुटबल स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध इटालियन क्लब युभेन्टस हाल घरेलु लिग सिरी ए को शीर्ष ४ मा अटाउन संघर्ष गरिरहेको छ। ३६ पटकको च्याम्पियन युभेन्टसले यसअघिका ९ सिजन लगातार उपाधि जितेको थियो। तर, सिजनको उत्कृष्ट शुरुवात गर्न चुकेको युभेन्टसलाई शीर्ष ४ मा रहन नै चुनौती छ।
३३ खेलबाट ६६ अंक जोडेको युभेन्टस तालिकाको चौथो स्थानमा छ। समान अंक जोडेको नापोली तेस्रो स्थानमा रहँदा समान अंकका साथ एसि मिलान पाँचौं स्थानमा छ। युभेन्टस, एसि मिलान र नापोलीबीच उपाधिका लागिभन्दा पनि शीर्ष ४ मा अटाउन प्रतिस्पर्धा भइरहेको छ। शीर्ष ४ मा पर्ने टोलीले च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउने भएकाले युभेन्टस अप्ठ्यारोमा परेको छ।
इंग्लिस प्रिमियर लिग हुँदै स्पेनिस लिगमा ऐतिहासिक सफलता पाएका रोनाल्डोको करियर युभेन्टस पुगेपछि ओरोलो लागेको टिप्पणी गर्न थालिएको छ। यसो त, बढ्दो उमेरले पनि प्रदर्शनमा असर गरेको बताइन्छ। यद्यपि, रोनाल्डो सिरी ए को सर्वाधिक गोलकर्ता हुन्। उनले लिगमा २५ गोल गरिसकेका छन्। रोनाल्डोले क्लबलाई हरेक उपाधि जिताउन हरसम्भव प्रयास नगरेका हैनन्। तर पनि युभेन्टस रोनाल्डोलाई लिएर निराश भएको फुटबल विश्लेषक बताउँछन्।
घरेलु लिगमा ऐतिहासिक सफल युभेन्टसले च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यका साथ रोनाल्डोलाई मोटो रकममा भित्र्याएको थियो। रोनाल्डोको आगमनको ३ सिजन बित्दा पनि युभेन्टसले च्याम्पियन्स लिगमा सोचेजस्तो प्रदर्शन गर्न सकेन।
सिजन २०१८–१९ को क्वाटरफाइनलमा अज्याक्ससँग हारेर च्याम्पियन्स लिगबाट बाहिरिएको युभेन्टस २०१९–२० मा लायोनसँह हार्दै अन्तिम १६ बाट बाहिरिएको थियो। सिजन २०२०–२१ मा युभेन्टस पोर्टोसँग पराजित हुँदै अन्तिम १६ बाट नै बाहिरियो। युभेन्टसले रोनाल्डो ल्याएपछि जुन सफलता पाउने आशा गरेको थियो त्यो सफलता नपाएपछि रोनाल्डोसँग निराश बनेको छ।
याे पनि – एउटा ब्याटल हारेका हौं, तर म्यानचेस्टर सिटीविरुद्धको महासंग्राम जारी छ : नेयमार
त्यस्तै, क्लबलाई हर उपाधि जिताउन प्रयास गरेका रोनाल्डो पटकपटकको आलोचनाबाट निराश बनेका छन्। समग्रमा टोलीको उत्कृष्ट प्रदर्शन नहुनुमा एक खेलाडी मात्र जिम्मेवार नहुने रोनाल्डोको बुझाई छ। सिरी ए मा रोनाल्डोले गरेको प्रदर्शन हेर्ने हो भने पनि युभेन्टसको हारको कारण रोनाल्डोलाई मान्न सकिन्छ।
पछिल्ला दिनहरुमा क्लबले हेर्ने दृष्टिकोण परिवर्तन भएसँगै रोनाल्डो निराश बनेका छन्। क्लब खेलाडीसँग निराश र खेलाडी क्लबसँग निराश हुनुले दुईबीचको दुरी बढेको बताइएको छ। कतिपय मिडिया रिपोर्टले रोनाल्डो इटाली छोड्ने तयारीमा रहेको खबर सार्वजनिक गरिरहेका छन्। तर, सिजनको अन्त्यमा रोनाल्डोले आफ्नो भविष्य आफैं निर्धारण गर्नेछन्।