रामपुर, ५ माघ – पाल्पाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएको छ।
सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा पाल्पाका केही विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकहरुले बताउन थालेका छन्।
रामपुर बेझाडस्थित रामतुलसी माध्यमिक विद्यालय गुणस्तरीय पढाई हुन थालेपछि अहिले सो विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइ बनेको छ। प्रशस्त रुपमा कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेलमैदान, विद्यालय प्रवेश गर्ने वित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण आफूहरु त्यहाँ पढ्न लागेको विद्यार्थी निशान सिग्देलले बताए। उनले भने, मायालु वातावरणमा शिक्षक पढाउन थालेपछि नै यो स्कुल मन पर्छ।
पाल्पाका दुई विद्यालय नमूना विद्यालयमा छनौटसमेत भएका छन्। विद्यार्थी सङ्ख्या, विज्ञान सङ्कायमा पढाइ हुने, पुस्तकालय, प्रयोगशालाको व्यवस्था, भौतिक संरचना, १० रोपनी जग्गा भएको, कक्षा १ देखि १२ सम्म पढाइ हुने, नियमित लेखा परीक्षण, अध्यापन शैली तथा विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा २०७४ मा सरकारले गँगा माध्यामिक विद्यालय र रामतुलसी माविलाई नमूना विद्यालयको रुपमा छनौट गरेको थियो।
नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी, नेपालीसँगै विज्ञान तथा बालिविज्ञान विषयमा पढाइ हुने रामतुलसी मावि अहिले जिल्लाकै धेरै विद्यार्थी भएको दोस्रो विद्यालयको रुपमा रहेको छ। सो विद्यालयमा अहिले झण्डै दुई हजार विद्यार्थी अध्ययनरत छन्। पाल्पासँगै गुल्मी, पर्वत, अर्घाखाँची, स्याङ्जा, तनहुँ र नवलपुरबाट समेत पढाईका लागि यहाँ विद्यार्थी आउने गर्छन्।
कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सरकारी विद्यालयप्रति आकर्षण बढेको शिक्षक लेखनाथ शर्मा मरासिनीले बताए।
विद्यालयका सहयोगी कुलबहादुर दरैले भने, हेडसर बिहानैदेखि स्कुलमा आएपछि बेलुकासम्म खट्नुहुन्छ। समयभन्दा कसैले तलमाथि गर्न पाउँदैन। घण्टी बज्ने बितीकै सरहरु कक्षामा पस्नुहुन्छ, तोकिएको समयमा विद्यालय नपुग्ने विद्यार्थी र शिक्षकलाई कारवाही हुन्छ।
विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलावबारे चासो राख्दा पनि विद्यार्थी तथा शिक्षक अनुशासनमा डोर्याउन सहज हुने प्रधानाध्यापक बालकृष्ण लम्सालको भनाइ छ। विद्यालयमा उमेरले पाको भए पनि सबै शिक्षकहरुलाई खाली समयमा कम्प्युटर सीपसमेत सिकाइको छ। विज्ञान र प्रविधिको समयमा अब कम्प्युटरमार्फत शिक्षा दिनका निम्ति आफूले ४५ वर्षको उमेरमा ज्ञान सिकेर कम्प्युटरमार्फत नै पेपर निकाल्नेलगायत काममा समेत सहज भएको शिक्षक शान्ति रानाले बताए।
देशका विभिन्न सरकारी पदमा कार्यरत कर्मचारी उत्पादन गर्ने रामपुरकै पुरानो विद्यालयका रुपमा परिचित रामतुलसी विद्यालय यस क्षेत्रकै गौरवमय शैक्षिक संस्थाका रुपमा परिचित रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराईको भनाइ छ।
पचहत्तर शिक्षकले अध्यापन गराउने विद्यालयमा गतवर्ष मात्रै ३५० नयाँ विद्यार्थी भर्ना हुन आएको थियो। तीमध्ये निजी तथा आवासीयबाट १५० विद्यार्थी अध्ययनका निम्ति आएका विद्यालयले जनाएको छ। अहिले पाल्पा जिल्लामा ४३७ सरकारी तथा ६० संस्थागत विद्यालय रहेका छन्।(रासस)