सरकारले कोरोना संक्रमित बिरामीलाई बेड उपलब्ध गराउन नसकिने बताएको छ। संक्रमितको संख्या दिनानुदिन बढिरहेका बेला सरकारले नै यस्तो बताएपछि जनतामा त्रास अझै बढेको छ।
संवेदशनील अवस्थामा आएको अभिव्यक्ति सरकारको लाचारी र लज्जास्पद भएको कांग्रसको टिप्पणी छ। ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
‘यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्न,’ विज्ञप्तीमा थप उल्लेख गरिएको छ, ‘पूरै वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने?’
कांग्रेसले संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुने जानकारी दिँदै परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराएको छ।