हालै मात्र राजनीतिको मूलधारमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको छ। विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएको भन्दै नेकपा विभाजित भएको हो।
नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाले नयाँ ढंगले अघि बढ्ने भन्दै पार्टी फुटेको जानकारी दिएका छन्। उनले नयाँ पार्टीको घोषणा पनि गरेका छन्। धमला संयोजक रहेको नयाँ पार्टीको नाम ‘जन समाजवादी मञ्च, नेपाल’ रहेको शनिबार जारी विज्ञप्तीमा जानकारी दिइएको छ।
‘आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं। तीनै नेतृत्वले आफुलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ,’ धमलाद्व रा जारी विज्ञप्तिमा उल्लेख छ।
५१ सदस्यीय नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको बताइएको छ।