युईएफ च्याम्पियन्स लिगको च्याम्पियन बन्ने हर युरोपियन क्लबका सपना हुन्छ। तर, कडा प्रतिस्पर्धाबीच उपाधि जित्न निकै कठिन छ। युरोपियन उत्कृष्ट क्लबहरुको महासंग्रामा हो च्याम्पियन्स लिग।
फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मन(पिएसजी)को सपना पनि च्याम्पियन्स लिगको उपाधि जित्नु नै हो। करिब ५० वर्षअघि स्थापना भएको पिएसजीले गत सिजनको च्याम्पियन्स लिगमा फाइनलसम्मको यात्रा तय गरेको थियो। फाइनलमा बायर्न म्युनिखसँग १–० गोलले हार्दै पिएसजीले पहिलोपटक च्याम्पियन बन्न पाउने अवसर गुमायो।
पिएसजीको च्याम्पियन्स लिग यात्रा त्यहीँ टुंगिएको थिएन। नयाँ सिजन नयाँ उर्जाका साथ पिएसजीले आफ्नो च्याम्पियन्स लिग यात्रा शुरु ग¥यो। अन्तिम १६ मा स्पेनिस क्लब बार्सिलोनालाई पन्छाएको पिएजसीले अन्तिम ८ मा साबिकको विजेता बायर्न म्युनिखलाई पराजित गर्दै सेमिफाइनल प्रवेश ग¥यो। सेमिफाइनल पिएसजीको भेट इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग भयो।
सिटी पनि पहिलोपटक उपाधि जित्ने लक्ष्यका साथ मैदान होमिएको छ। दुई टोलीबीच सेमिफाइनल खेलको पहिलो लेग सकिएको छ। पहिलो लेगमा पिएसजी घरेलु मैदानमा २–१ गोलले पराजित भएको छ। समग्रमा यो खेलको पहिलो हाफ मात्र हो। खेलको निर्णायक दोस्रो लेग बाँकी नै छ। पिएसीले दोस्रो लेगमा कमब्याकको योजना बनाइरहेको छ।
खेल जित्नका लागि फुटबलमा पूरै टोली सन्तुलित हुन जरुरी छ। गोलरक्षक, डिफेण्डर, मिडफिल्डर तथा फरवार्डको उत्कष्ट प्रदर्शनले टोलीको जित र हार निर्धारण गर्छ। तर, यसमा पनि सबैभनदा बढी भरोसा फरवार्डलाई गरिन्छ। टोलीको जीतको श्रेय फरवार्डलाई नै बढी दिइन्छ अनि हारको दोष पनि। पहिलो लेगमा सिटीसँग पछि परेको पिएसजीले हार मानेको छैन। मुख्य प्रशिक्षकले टोलीसँग गोल गर्न र खेल जित्न समय रहेको बताउँदै आएका छन्। टोलीका मुख्य खेलाडी नेयमार जुनियरले टोलीमा विश्वास रहेको भन्दै सिटीविरुद्धको युद्ध नसकिएको जानकारी दिएका छन्।
पिएसजीका फ्यानहरुले दोस्रो लेगमा युवा फरवार्ड केलियन एमबाप्पे र नेयमार जुनियरको उत्कृष्ट प्रदर्शनको आशा गरेका छन्। च्याम्पियन्स लिग इतिहासलाई हेर्ने हो भने पनि योभन्दा ठूलो गाेलअन्तरले पछि परेका खेलहरूमा अन्तिम समयमा नतिजा उल्टिएका छन्। त्यसकरण पनि पिएसजी प्रशंसकहरुले आफ्नो टोलीमाथिको विश्वास टुट्न दिएका छैनन्।
‘फुटबलमा योभन्दा ठूलो अन्तरमा पनि कमब्याक भएका घटनाहरु छन्,’ पिएसजीका एक नेपाली समर्थक भन्छन्, ‘युवा फरवार्डद्वय नेयमार र एमबाप्पेमाथि अझै भरोसा छ। दोस्रो लेगमा उनीहरुको उत्कृष्ट प्रदर्शनसँगै पिएसजी फाइनल पुग्नेमा आशावादी छु।’
सिटी पनि सन्तुलित टोली भएको कारण पिएसजीका लागि खेल निकै कठिन हुने अनुमान गर्न सकिन्छ। त्यसमाथि खेल सिटीको घरेलु मैदानमा हुनेछ। दोस्रो लेग मंगलबार राति १२ः४५ बजे हुनेछ। फाइनलमा स्थान बनाउन पिएसजीले सिटीलाई २–० गोलले पराजित गर्नुपर्नेछ। सिटीविरुद्ध पिएसजी १–० गोलले विजयी भएमा अवे गोलमा अघि रहँदै सिटी नै फाइनल जानेछ। तर, पिएसजी २–१ गोलले विजयी भएमा खेल अतिरिक्त समयमा धकेलिनेछ।