दाङको तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र शनिबार बेलुका ३ बालक मृतावस्थामा फेला परेका छन्। घटनास्थल पुगेको प्रहरीको टोलीले मृत भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको जानकारी दिएको छ।
मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र कृष्ण परियारका छ वर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिएका छन्।
यही वैशाख १६ गते बालकहरु हराएको र खोजी गरिदिन भनी इलाका प्रहरी कार्यालय तुलसीपुरमा निजका अभिभावकले वैशाख १७ गते निवेदन पनि दर्ता गराएका थिए। अहिले शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। घटना के कसरी भयो भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी नभएको र अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहित विशेषज्ञ टोली गए राति नै आएको तुलसीपुर इलाका प्रहरी प्रमुख सिंहले जानकारी दिए।
उक्त कार सो स्थानमा विगत सात महिनादेखि पार्किङमा रहेको र कारका धनी यादव गैरेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा झिकाइएको प्रहरीले जानकारी दिएको छ।