स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ। अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो।
ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको धनगढीमाई–९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए।
उक्त अस्पतालको आकस्मिककक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ। अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने अस्पतालले जानकारी दिएको छ। कोभिड–१९ को दोस्रो लहरपछि सिरहामा हालसम्म ६१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जानकारी दिएको छ।
संक्रमितमध्ये सात जना आइसोलेसनमा, एक जनाको विराटनगर, एक जनाको धरानमा उपचार भइरहेको छ भने बाँकी होम आइसोलेसनमा छन्।