झापाको बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्था (शिखर साकोस) का सञ्चालकहरू सर्वसाधारणले बचत गरेको रकममा ‘मोजमस्ती’ गर्दै हिँडेका छन्।
विपन्न नागरिकले राखेको पैसामा शिखर साकोसका सञ्चालकहरूले जिल्लाकै महंगा होटलका कार्यक्रम गर्ने गरेको खुलेको हो। वैशाख १३ गते सोमबार पनि शिखर साकोसका सञ्चालकले लाखौं खर्च गरेर गोष्ठी आयोजना गरेका हुन्।
शिखर साकोसको ‘तेस्रो त्रैमासिक समीक्षा गोष्ठी तथा उत्प्रेरणा कार्यक्रम’ आयोजना गरिएको हो। कार्यक्रममा सञ्चालक समितिका ५ जना अध्यक्ष दीपेन्द्र राउत, सहसचिव तारा खतिवडा, सदस्यहरू सुचित्रा मेचे, किरण पौडल र मदनकुमार विश्वकर्माको अगुवाईमा झापाको एक मात्रै पाँचतारे होटल मेची क्राउनमा कार्यक्रम गरिएको हो।
शिखर साकोस लेखा समिति संयोजक अर्जुन चापागाईले सहकारीको होटल मेची क्राउनमा कार्यक्रम गरिएको बताए। ‘तर, मेरो घरमा पारिवारिक कार्यक्रम भएकाले म चाहिँ उपस्थित हुन सकिन,’ चापागाईले भने। शिखर साकोसका सहसचिव तारा खतिवडाले पनि कार्यक्रम होटल मेची क्राउनमा गरिएको पुष्टि गरे।
कार्यक्रममा उपस्थित एक कर्मचारीका अनुसार शिखर साकोसका अध्यक्ष दीपेन्द्र राउतले कार्यक्रम आयोजनाको खर्च सहकारीको कोषबाटै दिएका छन्।
‘सञ्चालक समितिका ५ जनाले गोष्ठी भन्दा पनि रिफ्रेस्मेन्टका लागि कार्यक्रम आयोजना गर्नुभएको हो, सहकारीको खाताबाट खर्च गर्ने गरी कहिलेकाही यस्ता कार्यक्रम हुन्छन्,’ ती कर्मचारीले भने।
कार्यक्रममा संस्थाले लिएको वार्षिक लक्ष्य ७ महिनामा नै पूरा गरेको बताइएको छ। ६० कारोड बचतको लक्ष्य लिइएकोमा चैत्र मसान्तसम्म ६५ करोड पुगेको उल्लेख गरिएको छ।
तर, प्रत्यक्ष रुपमा भ्रष्टाचार ठहरिने गरी पाँचतारे होटलका कार्यक्रम आयोजना गर्नु कतिको जायज हो भन्ने प्रश्नमा शिखर साकोसका सञ्चालक सदस्यहरू कसैले पनि उत्तर दिन चाहेनन्।
सोमबार दिउँसो अध्यक्ष राउतको फोन अफ थियो। त्यसैले सम्पर्क हुन सकेन। शिखर साकोसले झापाको बिर्तामोड, गरामनी र राजगढका बासिन्दाबाट रकम संकलन गर्दै आएको छ। संकलित रकममा सञ्चालक समितिका पदाधिकारी र सदस्यको मोजमस्ती चल्दै आएको छ।