युरोपियन लिगहरुमा इंग्लिस प्रिमियर लिग, ला लिगा, सिरी एकाे तुलनामा फ्रेन्च लिग वानको चर्चा कमै मात्र हुने गरेको पाइन्छ। तर, फ्रेन्च लिगमा पनि टोलीहरुबीच उपाधिका लागि कडा प्रतिस्पर्धा भइरहेको छ।
लिगमा ३५ औं चरणका खेलहरु सकिँदा उपाधिका लागि दुई टोलीबीच कडा टक्कर देखिएको छ। ७६ अंक जोडेको लिल शीर्षस्थानमा रहेको छ भने ७५ अंकका साथ पेरिस सेन्ट जर्मन (पिएसजी) दोस्रो स्थानमा छ।
लिगमा यी दुबै टोलीले समान ३ खेल खेल्न बाँकी छ। पिएसजीले रेनेस, रेइम्स र ब्रेस्टसँग खेल्न बाँकी छ। पिएसजीले खेल्न बाँकी टोलीहरु तुलनात्मकरुपमा कमजोर छन्। तर, बाँकी खेलमा शतप्रतिशत जित निकाले पनि पिएसजीले उपाधिका लागि शीर्षस्थानको लिलको खेलमा निर्भर हुनुपर्नेछ।
लिलले लेन्स, एसटी इटिनी र एंगर्ससँग खेल्नेछ। लिलका लागि लेन्ससँगको खेल कठिन हुनेछ। ३ वटै खेलमा शतप्रतिशत जित निकालेमा लिलले फ्रेन्च लिगको उपाधि जित्नेछ। तर, कुनै खेलमा बराबरी वा हार बेहोरेमा लिलले पनि उपाधिका लागि पिएसजीको नतिजामा निर्भर हुनुपर्नेछ।
त्यसकारण यी दुई टोलीका लागि प्रत्येक खेल उपाधिका लागि महत्त्वपूर्ण छन् र एकअर्कासँग अन्तरसम्बन्धित पनि। तेस्रो स्थानमा रहेको मोनाकोको ७१ अंक छ। यी दुबै टोलीले बाँकी खेलमा अनअपेक्षित हार बेहोरेमा र मोनोकोले बाँकी खेलमा जित निकाल्न सकेमा मोनाकोले पनि उपाधि जित्ने सम्भावना रहन्छ।