स्पेनिस ला लिगा फुटबलमा लिग लिडर एथ्लेटिको मड्रिड र बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार शनिबार राति ८ बजे शुरु हुनेछ। यो खेल उपाधिका हिसाबले दुबै टोलीका लागि महत्त्वपूर्ण र चुनौतीपूर्ण छ।
यो खेल जारी सिजनको ला लिगाको अन्तिम रोमाञ्चक खेल हो। बलिया दुई टोलीबीचको महाभिडन्तको नतिजाले उपाधि दौडमा प्रत्यक्ष प्रभाव पार्नेछ। यो खेलमा विजयी हुने टोलीको उपाधि सम्भावना बलियो हुनेछ किनकि दुबै टोलीका लागि बाँकी ३ खेल केही सहज हुने देखिन्छ।
हालसम्म बार्सिलोना र एथ्लेटिको मड्रिडबीच सबै प्रतिस्पर्धामा गरी ५३ खेलमा भेट भएको छ। तीमध्ये २७ खेलमा बार्सिलोना विजयी भएको छ भने १२ खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ। जारी सिजनको ला लिगामा बार्सिलोनाविरुद्ध एथ्लेटिको मड्रिड १–० गोलले विजयी भएको थियो।
‘मलाई रोनाल्डो एकदमै मन पर्छ तर, मेसी इतिहासकै महान् खेलाडी हुन्’
ला लिगा फुटबलमा ३४ औं चरणका खेलहरु समाप्त भइसकेका छन्। लिगमा अब प्रत्येक टोलीले ४ खेल खेल्न बाँकी रहेको अवस्थामा उपाधिका लागि ३ टोलीबीच कडा प्रतिस्पर्धा छ।
एथ्लेटिको मड्रिड, रियल मड्रिड र बार्सिलोनाबीच उपाधिका लागि कडा टक्कर देखिएको छ। हाल एथ्लेटिको ७६ अंकका साथ शीर्षस्थानमा छ भने रियल र बार्सिलोना समान ७४ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। शीर्ष ३ टोलीका प्रत्येक खेलले उपाधि दौडमा महत्त्व राख्दछ।
लिगमा एथ्लेटिको २ अंकले अगाडि रहेका कारण बाँकी खेलमा शतप्रतिशत जित निकाले बिना शंका एथलेटिकोले यस सिजन ला लिगाको उपाधि जित्नेछ।