बुधवार र बिहीवार संसद् भवन नयाँ बानेश्वरमा २०५ जना सांसदको परीक्षण गरिएकोमा १८ प्रतिनिधि सभा सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको संसद् सचिवालयले जाकारी दिएको छ।
त्यसअघि नै दुई मन्त्रीसहित ८ जना सांसदमा संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमित हुने सांसदको संख्या २६ पुगेको छ। यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ मा बोलाएको विशेष अधिवेशनमा असर पुगेको छ।
विश्वासको मतमा थोरै संख्याले पनि फरक पर्ने भएकाले संक्रमित भएर उपचार गराइरहेका वा क्वोरन्टाइनमा बसेका सबै सांसदलाई पनि विश्वासको मत दिन मिल्ने व्यवस्था गरिने बताइएको छ।
संक्रमित सांसदलाई छुट्टै हलको व्यवस्था गरी मतदान गर्ने व्यवस्था मिलाइने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन्। नेता भट्टराईले विश्वासको मत लिने अधिवेशन नरोकिने स्पष्ट पारेका छन्।