डडेलधुरामा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय डडेलधुरामा शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आगामी जेठ ४ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। सुदूरपश्चिमका छवटा पहाडी जिल्लाका नाकाका रूपमा रहेको यस जिल्ला संक्रमणको उच्च जोखिमका रहेका कारण वैशाख १९ गतेबाट २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। कोरोना संक्रमण तीव्ररूपमा फैलिएसँगै निषेधाज्ञालाई पनि कडाइका साथ निरन्तरता दिइएको छ।
निषेधाज्ञाको अवधिभर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवा सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए। खाद्य सामग्रीका पसल २५ गतेदेखि बिहान ७ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ। यहाँका सरकारी कार्यालयकोे पनि आकस्मिकबाहेक सबै सेवा बन्द गरिने उनले जानकारी दिए।