स्पेनिस ला लिगा फुटबलको उपाधि भिडन्त रोचक बनिरहेको छ। एथ्लेटिको मड्रिड, बार्सिलोना र रियल मड्रिडबीच उपाधिका लागि कडा प्रतिस्पर्धा भइरहेका बेला ला लिगाले धेरै फुटबलप्रेमीको ध्यान खिच्न सफल भएको छ।
ला लिगाको महत्त्वपूर्ण भिडन्तमा शनिबार राति बार्सिलोना र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेले। यसको प्रत्यक्ष फाइदा रियल मड्रिडलाई पुगेको छ। बार्सिलोनाविरुद्ध एथ्लेटिको विजयी भएको खण्डमा उसको च्याम्पियन बन्ने सम्भावना बलियो हुन्थ्यो। लिगमा एथ्लेटिकोले अब ३ खेल खेल्न बाँकी छ र उसका ३ प्रतिद्वन्द्वी तुलनात्मकरुपमा कमजोर छन्। तर, बराबरीको नजिताले एथलेटिकोलाई पनि उपाधि दौडमा धक्का लागेको छ।
त्यस्तै, एथ्लेटिकोविरुद्ध जित निकालेको खण्डमा बार्सिलोनाको उपाधि सम्भावना बलियो हुन्थ्यो। बार्सिलोनाले खेल्न बाँकी ३ टोली पनि लिगमा कमजोर मानिन्छन्। तर, बराबरीको नजिताले बार्सिलोनाको उपाधि जित्ने सम्भावना न्यून बनेको छ। उपाधिका लागि बाँकी खेल जित्नुका साथै एथ्लेटिको र रियलको बाँकी खेलको नतिजा कुर्न बार्सिलोना बाध्य भएको छ।
रियलले लिगमा ४ खेल खेल्न बाँकी छ। आइतबार बेलुका रियलले बलियो प्रतिद्वन्द्वी सेभियाको सामना गर्नेछ। उक्त खेलमा विजयी भएमा रियल तालिकाको शीर्षस्थानमा उक्लने छ। बार्सिलोना र एथ्लेटिको मड्रिडको बराबरीले रियललाई च्याम्पियन बन्ने अवसर दिएको छ। आफ्ना बाँकी ४ वटै खेलमा रियल विजयी भएमा उपाधि जित्नेछ।