नेपाली कांग्रसको संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र अन्य दललाई पनि विश्वासको मत नदिन आग्रह गर्ने निर्णय गरेको थियो। आइतबार कांग्रेस सभापतिले जनता समावजादी पार्टीका दुई नेतासँग भेटवार्ता गरेका छन्।
सभापति शेरबहादुर देउवा र जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच देउवा निवासमा भेटवार्ता भएको हो। जसपामा ठाकुर र महतो पक्ष प्रधानमन्त्री ओलीतिर लचक छ।
जसपाकै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओलीको विकल्पमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा छन्। यस्तो अवस्थामा देउवा, ठाकुर र महताेबीचको भेटलाई महत्त्वपूर्णरुपमा हेरिएको छ।
वैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने तयारी गरिरहेका छन्। कांग्रेस सभापतिले विश्वासको मतमा प्रधानमन्त्री ओलीविरुद्ध मतदान गर्न ठाकुर र महतोलाई आग्रह गरिएको बुझिएको छ।