ओखलढुङ्गामा साथीको कुटाइबाट एक जनाको मृत्यु भएको छ। मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा झगडा हुँदा एक वृद्धको मृत्यु भएको हो। साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो।
शनिबार बेलुका करीब ८ः४५ बजे स्थानीयवासी ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।
प्रहरीका अनुसार सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेका थिए। दुवै जनाले मदिरा सेवन गरेका थिए। घरैमा आएर सुनुवारले हत्या गरेको गरेको भन्दै खड्काका परिवारले कारबाहीको माग गरेका छन्।
शव परीक्षण गर्ने तयारी भइरहेको छ। कुटाकुटका क्रममा सुनुवारसमेत घाइते भएकाले स्थानीय क्लिनिकमा उपचारपश्चात् इलाका प्रहरी कार्यालय खिजिफलाटेले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।