नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हतारोमा कुनै पनि अनुचित निर्णय नलिन सांसदहरुलाई आग्रह गरेका छन्। विश्वासको मत लिनुअघि ओलीले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको अवगत गराउँदै आन्तरिक मतभेद आपसी छलफलबाट समाधान गर्न सकिने स्पष्ट पारेका छन्।
‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ,’ उनले फेसबुकमा लेखेका छन्, ‘यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।’
प्रधानमन्त्री ओलीले हतारोमा कुनै पनि अनुचित निर्णयमा जानु वाञ्छनीय नहुने कुरामा सांसदहरुको ध्यानाकर्षण पनि गराएका छन्। केही समस्या भए सँगै बसेर छलफल गरी समाधान गर्न सकिने उनले जानकारी गराएका छन्।