नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत माग्नुपर्ने अवस्थामा आइपुग्नुमा प्रधानमन्त्री केपी शर्मा ओली नै जिम्मेवार रहेको बताएका छन्। प्रतिनिधिसभा विशेष अधिवेशनमा बोल्दै उनले तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गरेका छन्।
‘देश र जनताको हितमा काम गर्न कसले कहाँ रोक्यो?’ देउवाले प्रश्न गरे, ‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने? अरुमाथि दोष र गुनासो थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुुहुन्छ?’
सभापति देउवाले मानिस दुनियाँबाट भाग्न सक्ने तर आफैंबाट भाग्न नसक्ने स्पष्ट पारे। उनले प्रधानमन्त्री ओलीलाई अंकगणित दम्भ, कुशासन र भ्रष्टाचारका कारण यो अवस्था सिर्जना भएको होकि हैन एक पटक छातिमा हात राखेर सोच्न पनि आग्रह गरे।