नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमणका कारण यही वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा भर्ना भएका नेता भण्डारी आइतबार राती डिस्चार्ज भएका हुन्।
गृहजिल्ला तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौं फर्केका भण्डारीको यही वैशाख १८ गते स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमणसँगै होम आइसोलेसनमा रहेका नेता भण्डारीलाई वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। नेता भण्डारीसहित उनका श्रीमती र छोरालाई समेत कोरोना संक्रमण देखिएको थियो।
नेता भण्डारीले डिस्चार्ज भएसँगै आज एक वक्तव्य जारी गरी आफुलाई कोरोना संक्रणबाट मुक्त गराउन अनवरत खटिएका चिकित्सक, नर्स, अस्पताल प्रशासनलाई धन्यवाद दिएका छन्। उनले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्ने परिवारजन, इष्टमित्र, पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पार्टी तथा भ्रातृ संस्थाका नेता कार्यकर्ता र अन्य पार्टीका नेता र जनप्रतिनिधीलाई धन्यवाद ज्ञापन गरेका छन्।