महोत्तरीमा झुन्डिएको अवस्थामा एक प्रहरी जवानको शव फेला परेको छ। ड्युटी सकेर राति सुतेका प्रहरी जवान २५ वर्षीय जितेन्द्र साहको शव फेला परेको हो।
उनको शव प्रहरी चौकी सम्सीबाट करिब सातसय मिटर उत्तर पश्चिमस्थित चौरमा रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
घटनाको प्रकृति हेर्दा साहले आत्महत्या गरेजस्तो देखिने महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको उनले बताए।
पर्साको बौरामाई नगरपालिका–१ घर भई ढल्केवरमा रहेको प्रहरी गणमा दरबन्दी रहेका उनी विगत ७ महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत थिए। प्रहरी जवान साहको विवाह आगामी जेठ ७ गते हुने तय भएको थियो। बिहेकै लागि बिदा लिएर घर जाने तयारीमा रहेका थिए।