अमेरिकाको न्यूयोर्कमा एक स्कुलका शिक्षकहरुको लापरवाहीका कारण एक छात्राको ज्यान गएको छ। आना उग्लो नाम गरेकी १७ वर्षीया छात्राको स्कुल भ्रमणको क्रममा मृत्यु भएको हो।
समाचार एजेन्सीका अनुसार भ्रमण दौराना आना स्वस्थ थिइनन्। उनलाई श्वासप्रश्वासमा पनि समस्या भइरहेको थियो। नाक र मुखबाट अत्यधिक रगत बगेपछि उनको अस्पतालमा मृत्यु भएको हो। नाक र मुखबाट रगत बगिरहेका बेला स्कुलका शिक्षकहरुले आनालाई बेवास्ता गर्दै रमाइला दृश्य हेर्नमा ध्यान केन्द्रित गरेका थिए।
आनाले भ्रमणअघि पनि आफू अस्वस्थ भएकाले होस्टलमै बस्ने बताएकी थिइन्। तर, उनलाई जबरजस्ती घुम्न लगिएको थियो। सन् २०१९ को डिसेम्बर १९ मा उनी कोठामा ढलिरहेको अवस्थामा फेला परेकी थिइन्। र भोलीपल्ट अस्पतालमा उनको मृत्यु भएको थियो।
आनाको आमा नतालियाले ब्रिस्टोलको अदालतमा आनाको स्वास्थ्यलाई लिएर आफू चिन्तित भएको तर भ्रमणमा जानैपर्ने भएपछि उनलाई अनुमति दिएको बताएकी छिन्। ट्रिप दौरान आनालाई श्वास फेर्न गारो हुँदा र मुखबाट रगत बग्दा पनि शिक्षकहरुले बेवास्ता गरेको उनले अदालतलाई जानकारी दिएकी छिन्।
नतालियाले लगाएको आरोप पुष्टि भएमा स्कुलका शिक्षकहरुलाई कारबाही हुने बताइएको छ। मुद्दामा अहिले दुबै पक्षबाट सुनुवाइ भइरहेको छ भने अदालतले छिट्टै फैसला सुनाउने अपेक्षा गरिएको छ। आना ब्रिस्टोल ग्रामर स्कुलको कक्षा ६ मा पढ्दै गरेकी छात्रा थिइन्।