रगतको चरम अभाव भएको कारण जेठ १ गते शनिवार काठमाडौं रातोपुलमा आकस्मिक रक्तदान कार्यक्रम हुने भएको छ। लायन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेण्ड, अटो नेपाल मासिक र सहयोगी महिला जागरण मंचको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो।
रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरमा हुन लागेको रक्तदानमा कोभिडबिरुद्ध पूर्ण सावधानी अपनाईने र प्रहरीसंग सहकार्य गरिने आयोजकले जानकारी दिएका छन्। रक्तदानका लागि रक्तदातालाई त्यहाँसम्म आउने वातावरण मिलाउन आयोजकले पहल गरिरहेका छन्।
आयोजकले रक्तदाता बढाई दिन सम्पूर्णलाई आव्हान पनि गरेको छ। नेपाल रेडक्रस सोसाईटीले फोन गरेर सामान्य गर्भवती महिला र अपरेसन हुनै पर्ने बिरामीको पनि रगत अभावले अपरेसन हुन नसकेको बताएपछी आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको लायन्स क्लब अफ काठमाण्डौ सोसियल फ्रेण्डस् का अध्यक्ष भुषणकुमार श्रेष्ठले बताए।
‘यस्तै अवस्थामा हामीले सहयोग गर्ने हो र सम्भव भएसम्म हरेक दुई–दुई हप्तामा हामी सकेको रगत संकलन गरेर रेडक्रसलाई बुझाउने छौ,’ उनले भने ‘यस्तो अवस्थामा हामी बाहिर निस्कदैनौ, तर अत्यन्त आकस्मिक पर्यो भने जीवन रक्षाका निमित्त जस्तो पनि सहयोग गर्न तयार छौ।’