कृष्ण ओझाको पेशा गाडीको वासिङ र सर्भिसिङ गर्ने हो। वीरगञ्ज आदर्शनगरमा उनको टप गेयर अटो वासिङ सेन्टर छ। विगत १० वर्षदेखी उनी यहि पेशामा छन्।
कोरोना महामारी आएसँगै उनको पेशा फेरिएको छ। त्यहि टप गेयर वासिङबाट उनले अहिले विभिन्न स्थानहरु ‘सेनिटाइज र डिसइन्फेक्ट’ गर्न थालेका छन्। उनले घर, कार्यालय, क्याम्पस, गोदाम, बैंक, जिम, फ्याक्ट्रि आदि स्थानहरुमा उनले आफ्नो सेवा दिइरहेका छन्।
‘महामारीको बेला छ,’ ओझाले भने – ‘केहि त गर्नुपर्यो भनेर यो काम शुरु गरेको हो।’ यसलाई आफ्नो पेशा भन्दा पनि सेवाको रुपमा लिएको बताउँदै उनले थपे – ‘पैसाकै लागि मात्र गर्नुपर्ने भए त अरु धेरै कामहरु छन्, यसले महामारी नियन्त्रणमा पनि सहयोग पुग्छ जस्तो लाग्छ।’

टप गियर अटो वासिङका सञ्चालक ओझाले ‘सेनिटाइज तथा डिसइन्फेक्ट’ गर्ने काम संक्रमणको हिसाबले चुनौतीपुर्ण हुने अनुभव सुनाए। ‘प्राय संक्रमित भेटिएको ठाँउ सेनिटाइज तथा डिसइन्फेक्ट गर्नुपर्ने हुन्छ,’ ओझा भन्छन्, ‘आफुँ र कामदारहरुको सुरक्षालाई पनि ध्यान दिइरहेका छाैं।’
टप गियरबाट सेवा लिएका ग्राहकहरु पनि खुशी नै देखिन्छन्। ‘यस्तो महामारीको बेलामा यति चुनौतीपुर्ण काम गर्नु चानचुने कुरा होइन्,’ स्थानिय गणेश कार्की भन्छन् – ‘उहाँले गर्नुभएको कामबाट खुशी छौ।’
ओझाले वीरगञ्जमा रहेको मेघा बैंक, ज्योती विकास बैंक, लक्ष्मी बैंक, जगदम्बा सिमेन्ट फ्याक्ट्रि, वीरगञ्चका मेयर विजय सरावगीको घर तथा सांसदहरुको घरमा पनि स्यानिटाइज गरिसकेको जानकारी दिँदै संक्रमण रोक्न आफूले पनि योगदान दिन पाएको खुशी व्यक्त गरे। टप गियरले २ रुपैयाँ प्रति वर्गफिट शुल्क लिएर सेवा प्रदान गर्दै आइरहेको छ।
