गण्डकी प्रदेशमा नयाँ सरकार गठन अन्यौलमा परेको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठन गर्न तातेपनि बहुमत पु¥याउन नसकेपछि अलमल्लमा परेको छ।
कांग्रेसलाई माओवादी केन्द्रको समर्थन भएपनि जनमोर्चाका सांसद कृष्ण थापामगर कांग्रेसको सरकार बनाउन तयार भएका छैनन्। यसअघि उनी मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मत हाल्न तयार भएका थिए। मगरले नयाँ गठबन्धनका मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा स्वीकार नगर्ने र विपक्षी गठबन्धनको सांसद हस्ताक्षर संकलनमा हस्ताक्षर नगर्ने जानकारी दिएसँगै सरकार गठनमा कांग्रेस नै अलमल्ल परेको छ।
आफ्नो पार्टी जनमोर्चाले विपक्षी गठबन्धनमा हस्ताक्षर गर्न ह्वीप जारी गरिसकेको अवस्थामा पनि मगर हस्ताक्ष गर्न तयार नहुनुलाई राजनीतिक दाउपेचको रुपमा हेरिएको छ। गण्डकी प्रदेशमा कुल सांसद संख्या ६० छ। सो प्रदेशमा बहुमतका लागि ३१ सांसद चाहिन्छ। नयाँ सरकार गठनका लागि दिइएको समय आज सकिँदैछ। ४ बजेसम्ममा पनि बहुमत सांसदको हस्ताक्षर नपुगे नयाँ सरकार बन्ने सम्भावना टर्नेछ।
बुधबार नयाँ सरकार बन्न नसके गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको सम्भावना बलियो छ। प्रदशको ठूलो दलको हैसियतमा रहेको एमालेबाट मुख्यमन्त्री बन्ने अवस्था आएमा गुरुङलाई स्वीकृत हुने अवस्था छ। संविधानमा बहुमत सांसदको हस्ताक्षरसहितको सरकार दावी गर्न नसकेको अवस्थामा संविधानको धारा १६८ (२) बमोजिम अर्को सरकार गठन हुने व्यवस्था छ।
यसअघि गुरुङविरुद्ध कांग्रेस र माओवदीले अविश्वासको प्रस्ताव दार्ता गरेका थिए। जनमोर्चाले पनि साथ दिने भएपछि कांग्रेस र माओवादी अविश्वासको प्रस्ताप पेश गरेका हुन्। वैशाख २७ गते अविश्वासको प्रस्तावमा मतदान हुने भनिए पनि गुरुङले २६ गते नै पदबाट राजीनामा दिएका थिए। संवैधानिक व्यवस्था अनुसार गुरुङ नै मुख्यमन्त्री बनेमा उनले ३० दिन भित्र विश्वासको मत लिनु पर्नेछ।