पर्सा प्रहरीले बुधबार ८२ लाख ५० हजार सहित चारजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ का १८ वर्षका कलामुद्दिन अन्सारी, भारत विहार जिल्ला मोतिहारी रक्सौल वडा नं.१८ का वर्ष २७ का विकास कुमार, भारत विहार मोतिहारी पूर्वी चम्पारण थाना रक्सौल वडा नं.९ का २२ वर्षीय गुड्डु कुमार, भारत मोतीहारी वडा नम्बर ५ का १८ वर्षीय साहिल गुप्तालाई पक्राउ गरेको हो।
बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं. ४ बस्ने वर्ष १८ को कलामुद्दिन अन्सारीलाई वीरगन्ज महानगरको पुरानो बसपार्क, आदर्शनगर चोकमा कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। अन्सारीको झोलाबाट २५ लाख नेपाली रुपैयाँ बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
त्यसपछि उनलाई नियन्त्रणमा लिएर विकास कुमारको डेरामा गएर खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइछिपाई राखिएको ५७ लाख ५० हजार थप फेला परेको प्रहरी नायव उपरीक्षक खनालले बताए। हुण्डी रकमसहित पक्राउ परेका चारैजनालाई अवैध कारोबार बैंक तथा वित्तीय कारोबार ऐन अन्तर्गत कारबाही गरिने प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिएका छन्।
प्रहरीले उनीहरुले प्रयोग गर्ने बजाज कम्पनीको डिस्कभर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। त्यस्तै बुधबार नै प्रहरीले भन्सार छली ल्याएको अवैध कपडा लोड गरिएको म्याजिक भ्यानसहित एकजनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका वडा नं.–१४ गण्डक चोकमा ना १ ज ८२८७ नम्बरको म्याजिक गाडीमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका अन्दाजी एकलाख १३ हजार चारसय बराबरको कुर्ता सुरुवाल, साडी तथा ब्लाउजको कपडा बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीले गाडी चालक बारा जितपुर उमनपा वडा नं. ७ बस्ने वर्ष २१ को जियाउल हक खानलाई समेत नियन्त्रणमा लिएको छ। गाडीसहितको ६ लाख १३ हजार चारसय मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक खनाले बताए।