भारतमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणले त्राहीत्राही मच्चाएको छ। बढ्दो संक्रमण र बेड तथा अक्सिजनको अभावमा ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ।
जनता त्रसित छन्। दुई डोज खोप लगाएकाहरु पनि कोरोना संक्रमणमा परेपछि स्थिति डरलाग्दो बन्दै गइरहेको छ। यस्तोमा मानिसहरु कोरोराबाट कसरी बच्ने भनेर विभिन्न हर्कतहरु गरिरहेका छन्।
यस्तैमा, भारतको गुजरात राज्यको अहमदाबादको एउटा विद्यालयमा गाउँलेहरु भेला भई धमाधम गाईको गोबर र पिसाव दलेर कोरोना भगाउने कोसिसमा छन्। यस विधिबिाट कोरोना भाग्ने भन्दै उनीहरुले गोबर र पिसाव दलेका हुन्। गाउँलेहरुले गोबर दलेपछि कोरोना प्रतिरोधी क्षमता बढ्ने र संक्रमण नहुने बताएको त्यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन्।
समाचार संस्था रोयटरले कभर गरेको यो भिडियो यतिबेला विश्वभर भाइरल भइरहेको छ। श्री स्वामीनारायण गुरुकुल विद्यालयमा स्थानीयहरु हप्ताको एक दिन भेला हुन्छन, गौमुत्र र गोबर मिसाएर घोल बनाउँछन र लाइन बसेर जीउभरी गोबरको घोल दल्छन्। गोबर दलेपछि यो समूहले गाइलाई पुजा गर्छन र योगा पनि गर्छन्।
डाक्टर तथा विज्ञहरुले पटकपटक यस्ता वैकल्पिक उपचार विधिले झन खतरा निम्त्याउने भन्दै चेतावनी दिइरहेका छन्। आफ्नो शरिरमा रोग प्रतिरोधी क्षमता रहेको भ्रममा पर्दा बेलैमा कोरोनाको उपचार हुनबाट बञ्चित हुने भन्दै चिकित्सकहरुले यस्ता कार्यप्रति चिन्ता जनाइरहेका छन्।