नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ। लामो समयदेखि संवादबिहीन दुई नेताबीच छलफल हुन लागेको हो।
अध्यक्ष ओलीले भेटवार्ताका लागि प्रस्ताव गरेका थिए। ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएका हुन्। कहाँ र कहिले भेट्ने यकिन नभए पनि छिट्टै वार्ता हुने बताइएको छ।
दुई नेताको भेटवार्तापछि एमाले एकता नयाँ ढंगमा अघि बढ्नेछ। आजै बालुवाटारमा बसेको बैठकले नेता नेपालसहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ। बैठकले ओलीलाई नेता नेपालसँग सम्वाद गर्ने र सहमति गर्ने थप अधिकार पनि दिएको छ। कारबाही फुकुवा गर्नु ओलीको सकरात्मक कदम भएको नेपाल पक्षले नेताले जानकारी दिएका छन्।
ओलीसँगको भेटमा नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्नेमा जोड दिने नेपाल निकट एक नेताले बताए। एमालेको एकता कायम राख्नका लागि नेपालले अध्यक्ष ओलीलाई पार्टीको २०७५ जेठ २ गतेको संगठनलाई ब्युँताउन दबाब दिनेछन्। र, ओलीले उक्त विषय सम्बाेधन गरेमा एमाले पुनः एक भएर अघि बढ्ने ती नेताले जानकारी दिए।