सकियो चटक? आमजनताहरुले राजनितीक दलहरुलाई घर–घरबाट सोधिरहेको प्रश्न हो यो?
पहिलो पटक देशलाई कोरोना महामारीले अत्याएको बेलामा शुरु भएको राजनितीक खिचातानीको एउटा झन अत्यासलाग्दो अध्याय दोश्रो पटक महामारी फैलिएको बेलामा समाप्त भएको छ। तर, नेपालमा महामारीको ट्रेलर भर्खर शुरु भएको छ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको किचलो सतहमा आउँदा मुलुकको राजनिती नै लामो समयसम्म एकखाले अनिर्णयको बन्दि बनिरह्यो, सत्तारुपी मञ्चमा कथित राजनेताहरुको नाटक मञ्चन भइरह्यो। न सरकार हाक्ने जिम्मेवारी पाएका नेकपाका अध्यक्ष नेकपाको आन्तरिक कलहभन्दा माथी उठ्न सके न त सरकारको बागडोर सम्हाल्ने प्यास बोकेका अर्का नेकपा अध्यक्ष नै।
खड्ग प्रसाद ओलीको कुर्सी जोगाउने चाह र पुष्पकमल दाहाल प्रचण्डको सत्तामोहले नेपाली राजनितीप्रति आम जनतामा एकपटक फेरी तिव्र वितृष्णा जगाइदियो। विचमा, केहि पाई पो हालिन्छ की भन्ने माधव कुमार नेपालको लालचले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सम्बन्धविच्छेद गराएर पुनः नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई अस्तित्वमा ल्याइदियो।
सत्ता र शक्तिको खेलमा पार्टी फुट्यो, खासै मतलव भएन्, नेताहरुले एकआपसमा हिलो छ्यापाछप गरे त्यो पनि खासै चासोको बिषय रहेन। तर, महामारीले आमजनताको ज्यान लियो यो चाँहि मतलवको विषय हो, जनताले तिरेको कर खर्च गरेर सत्ता र शक्ति जोगाउने र हत्याउने खेल भयो त्यो चाँहि जनताको लागि उच्च चासोको बिषय हो।
लामो राजनितीक अस्थिरता भोगेका जनताले यसपटक स्थिरताको आस गरेका थिए। त्यसैले कथित रुपमा एक भएर चुनावी मैदानमा उत्रिएका कम्युनिष्टहरुलाई एकलौटी सरकार बनाउन पुग्ने भोट दिए। तर, नेकपाका शिर्षदेखी तल्लो तहका नेतासम्मले जनताको विश्वासमाथी घात गरे।
मन्त्रालयबाट गलहत्याइएका उपेन्द्र यादव र सरकारमै नगएका महन्थ ठाकुरहरुको जनता समाजवादी पार्टीको कुरै छोडौ। सरकारलाई खबरदारी गर्ने अभिभारा पाएको नेपाली काँग्रेस पनि यो नाटकको मुकदर्शक बनेर मात्र बसेन अन्त्यामा त्यो नाटकमा चरित्र निर्वाह गर्न समेत आइपुग्यो। शेरबहादुर देउवाको फेरी प्रधनमन्त्री बन्ने दाउले काँग्रेसलाई भोट दिनेहरुलाई पनि निराश नै बनायो।
जे होस महामारीले ट्रेलर देखाइरहेको बेलामा सत्ताको फोहोरी खेलको एउटा अध्याय सकिएको छ। यससँगै अब त कोभिडतिर ध्यान दिन्छन की भन्ने झिनो आशा पलाएको छ जनताको मनमा।
अब कोभिडतिर ध्यान दिने की...
कोरोना संक्रमणका कारण नेपालमा अहिले दैनिक २ सय जनाको हाराहारीमा मृत्यु भइरहेको छ भने दैनिक ८ हजार जनाभन्दा बढी नयाँ संक्रमितहरु देखा परिरहेका छन्। वल्र्डोमिटरको तथ्याङ्कअनुसार हालसम्म नेपालमा ४ लाख ३९ हजार ६ सय ५८ जना (यो सामग्री तयार पार्दासम्म) कोरोनाबाट संक्रमित भइसकेका छन्।
तथ्याङ्कले ४ हजार ६ सय ३९ जना (यो सामग्री तयार पार्दासम्म)को मृत्यू भइसकेको देखाउछ भने ३ लाख २७ हजार सय ५३ जना (यो सामग्री तयार पार्दासम्म) हालसम्म संक्रमणमुक्त भएका छन्। अझै पनि नेपालमा १ लाख भन्दा बढी कोरोनाका बिरामीहरु छन्।
कोरोनाभाइरसको दोश्रो लहरले मुलुक तहशनहस बनाएको छ। संक्रमितहरु अस्पतालमा बेड नपाएर छटपटाईरहेका छन्। बेड पाउनेहरु अक्सिजन नपाएर छटपटाइरहेका छन्। समयमा बेड र अक्सिजन नपाएर कतिले एम्बुलेन्स त कतिले सडकमै मृत्युवरण गरे र यो क्रम चलिरहेको छ। अझ भन्नुपर्दा बढीरहेको छ।
पहिलोपटक कोरोनाको लहर आउदा नेपालीहरु भाग्यमानी नै सावित भए। सरकार र सम्बन्धित निकायको कमजोर र बिवादले भरिपुर्ण प्रयासबावजुद ठुलो क्षती भोग्नुपरेन्। तर, यसपटक भने ‘पशुपतीनाथको कृपाले’ काम गरिरहेको छैन्। संक्रमण दर र मृत्यू दर दुबै दिनप्रतिदिन बढीरहेको छन्।
सोधकर्ताहरुले स्थिती अझ भयावह बन्दै जाने भविष्यवाणी गरिरहेका छन् भने जनस्वास्थ्यका जानकारहरु यहि श्रोत–साधन र यस्तै कमजोर तदारुकता रहिरहने हो भने महामारीका कारण नेपाली जनताले अत्यन्त कठिन परिस्थितीको सामना गर्नुपर्ने निष्र्कषमा पुगेका छन्।
त्यसैले अब सबै जनताले मिलेर नेताहरुलाई सोध्नैपर्ने भएको छ, ‘सकियो चटक? अब कोभिडतिर ध्यान दिने की बाँकी छ अरु केही?’
सुरज डिजी खनालका अन्य सामग्री :
डायलासिसमा प्रधानमन्त्री, भेन्टिलेटरमा देश
खरिद प्रकृयामा उदाङ्गीएको नेतृत्वको बेईमानी
धेरै जोगी, मठको सत्यानाश : जस्तो नेकपाको हाल, उस्तै जसपाको चाल
बाबुरामको लथालिंग राजनीती