जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले आफुँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएको स्विकार गरेका छन्। आइतबार बिहान ट्विट गर्दै उनले राष्ट्रिय सहमतीको सरकार गठनको प्रयासस्वरुप प्रधानमन्त्रीसँग भेटेको बताएका छन्।
‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो,’ उनले ट्विटमा लेखेका छन्, ‘मैले वर्तमान पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। वहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६ (५)बमोजिम बनाउन सकिन्छ। सोचौं’
भट्टराईले बैशाख २८ गते राति ओलीलाई भेटेका थिए।
भट्टराईले प्रधानमन्त्रीलाई भेटेर आफुलाई प्रधानमन्त्री बनाइदिन आग्रह गरेको टिप्पणी नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री महेश बस्नेतले शनिबार एक अन्र्तवार्ताको क्रममा गरेका थिए। पछिल्लो १० दिनमा भट्टराई २ पटक राती १ बजे बालुवाटार गएको दावी सांसद बस्नेतले भने, ‘उहाँले के प्रस्ताव राख्नुभयो भने, आजको परिवेशमा राष्ट्रिय सरकार हुन आवश्यक छ। राष्ट्रिय सरकारको नेतृत्व मैले लिनुपर्छ। म ६८ वर्षको भए, ७० वर्षसम्म राजनिती गर्ने मेरो चाहना हो। तपाईले अब मेरो लागि पहल गर्दिनुस। त्यो तपाई बाहेक कसैले गर्न सक्दैन। प्रचण्ड–देउवाको हामीले नाडी छाम्यौ भन्नुभयो।’
जवाफमा प्रधानमन्त्री ओलीले आफ्नै बिरुद्दमा लागेकाहरुलाई साथ दिन नसक्ने जवाफ दिएर फर्काइदिएको सांसद बस्नेतले दावी गरे। ‘म चाँही १ सय २१ जना सांसदको प्रतिनिधी, महन्थ ठाकुर तपाईको पार्टीभित्र २०–२२ जनाको प्रतिनिधी, उपेन्द्र यादव १३–१४ जनाको प्रतिनिधी, तपाई चाँहि कतिजनाको प्रतिनिधी, तपाई बाहेक को छ तपाईको सांसद?’ प्रधानमन्त्री ओलीको भनाई उद्घृत गर्दै बस्नेतले खुलाशा गरेका थिए।
बस्नेतको यहि अभिव्यक्तिको प्रतिउत्तरमा बाबुरामले आइतबार यस्तो ट्वीट गरेका हुन्।