पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेले कार्यदल गठन गरेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका नेताहरुलाई समेटेर कार्यदल गठन गरेको हो।
२०७५ जेठ २ मा फर्किनुपर्ने नेपाल पक्षको बटमलाइनमा सहमत हुँदै उक्त सहमति कार्यान्वयनका लागि कार्यदल बनाइएको हो। कार्यदलमा दुबै पक्षका ५–५ जना नेताहरु छन्।
कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्। कार्यदलमा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका राम बहादुर थापा बादल भने अटाएनन्।
ओलीले बादललाई पनि कार्यदलमा सहभागी गराउने इच्छा व्यक्त गरे पनि नेपाल यसमा सहमत नभएको बताइएको छ। जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको नेता नेपालले जानकारी दिए।